नेपाललाई श्रीलंकासँग जोड्नु हुँदैन : पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री

नेपाललाई श्रीलंकासँग जोड्नु हुँदैन : पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री


नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको अर्थतन्त्रमा तत्काल श्रीलंकाको  जस्तो परिस्थिति नरहेको बताएका छन् ।  

आज शुक्रवार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले यस्तो बताए । श्रीलंकाको जस्तो राजनीतिक अधिकार सीमित व्यक्तिलाई दियो भने कुनै समय हुन सक्ने सम्भावना भने कायम रहेको  उनले बताए ।

श्रीलंकामा एउटै परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थ मन्त्री बनेर जथाभाबी करका दरहरू चलाएकाले अहिलेको स्थिति आएको उनको भनाइ छ । पूर्वगभर्नर क्षेत्रीले नेपालले भर्खरै पालिका चुनाव सम्पन्न गरेको र अब संघ र प्रदेशको चुनाव गर्ने तयारीमा रहेकाले श्रीलंकासँग जोड्न नहुने बताए ।  

पूर्वगभर्नर क्षेत्रीले भने,  ‘नेपालको अर्थतन्त्र धेरै परिस्थितिले श्रीलंका हुने स्थिति छैन । तर राजनीतिक अधिकार सीमित मान्छेलाई दिइयो भने कुनै समयमा हुन सक्छ भन्ने कुरा श्रीलंकाबाट सिक्न सक्छौँ । त्यहाँ वंशीय रूपमा राष्ट्रपति, प्रधानमन्त्री र अर्थ मन्त्री एउटै परिवारको भएपछि हामी नै राज्य भन्ने कुरा भयो । उनीहरूले आफूहरूले ल्याएको कुरामा कसैले चुनौती दिन सक्दैन भनेपछि आयकरको दायरा घटाए, भ्याट पनि १५ प्रतिशतबाट आठ प्रतिशतमा झारे । आम्दानीको स्रोतहरू घट्यो । खाद आयात गर्न रोके ।

उत्पादन नहुँदा आयात गर्नुपर्ने भएपछि विदेशी मुद्राको सञ्चिति घट्दै गयो । ब्याज जस्तोसुकै भए पनि विदेशी ऋण ल्याइरहने भएकाले यस्ता कुराले श्रीलङ्कालाई गाजेको हो । आवश्यकभन्दा बाहिरका वस्तुहरू प्रधानमन्त्रीको जोडबाट आयात भइरहेको भन्ने हल्ला आएको छ । त्यस्तो रह्यो भने हामी पनि श्रीलङ्काको अवस्थामा जान सक्ने सम्भावना रहन्छ ।’

पूर्वगभर्नर क्षेत्रीले विदेशी मुद्रामा नेपालको जम्मा सम्पत्ति, एसडीआर र जम्मा गरेको सुनको समेत हिसाब गर्दा सात महिनाको आयात धान्न सक्ने अवस्था रहेको बताए ।  

यसैबीच उनले  राष्ट्र बैंकले ल्याउने आउँदो मौद्रिक नीति अपेक्षाकृत नहुने बताए । राष्ट्र बैंकले ल्याउने आउँदो मौद्रिक नीति विगतको जस्तो विस्तारकारी आउनेमा उहाँको शङ्का छ । बैंकहरूले उद्योगको क्षमता विस्तार गर्न दिएको कर्जा आयात गर्न प्रयोग भएको उनको भनाइ छ 
 ।  

Logo