चालु आर्थिक वर्ष २०७८/७९ को मसान्त सकिन दुई साता मात्रै बाँकी रहेका बेला हुम्ला जिल्लाका सरकारी कार्यालयका अधिकारीलाई स्थलगत अनुगमनको चटारो सुरु भएको छ ।
वर्षका ११ महिना काममा नतातिने सरकारी कार्यालयहरूले जेठयता बढाएको योजनाको कामको एक पक्षीय र बहुपक्षीय अनुगमनका नाममा केही दिनयता गाउँ आउजाउको चटारो सुरु भएको हो ।
अन्य महिना शुक्रबारमा समेत राम्रोसँग कार्यालयको काममा ध्यान नदिएका जिल्लाका सरकारी कार्यालयका अधिकारीहरूलाई पछिल्लो समय सार्वजनिक बिदाको दिन पनि कार्यालयको काम गर्न भ्याई नभ्याई भएको छ ।
प्रमुख जिल्ला अधिकारी सिता परियार, प्रहरी प्रमुख लगायतका जिल्लाका उच्च सरकारी अधिकारी खानेपानी, ऊर्जा तथा जलस्रोत लगायतका सरकारी कार्यालयबाट सुरु भएका योजनाहरूको संयुक्त अनुगमन गर्न सिमकोट गाउँपालिकाको डाँडाफया क्षेत्र पुगेको थियो ।
विकासे कामको अनुगमनमा जिल्ला सुरक्षा अधिकारी सहितको टोलीको समेत पछिल्ला केही साता बढेको आउजाउले यो वर्ष पनि असारे विकासको चटारो हुम्लामा पुनः सुरु भएको टिप्पणी सुरु हुन थालेको छ ।
योजनाहरूको पेस्कीको फर्छ्यौट र अन्तिम किस्ताको भुक्तानीका लागि तेस्रो पक्षीय अनुगमन तथा मूल्यांकन गर्न अख्तियारको कार्यक्षेत्र समेत लिएका सुरक्षा अधिकारीको टोलीलाई सरकारी कार्यालयले अनुगमनका लागि गाउँमा लिन सुरु गरेका छन।
प्रतिक्रिया