प्रहरीले सर्लाहीमा सर्वसाधारणमाथि गोली बर्सायो, एक जनाको मृत्यु
File Photo

सर्लाही । प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर सर्लाही ईश्वरपुर नगरपालिका-१३ का २७ वर्षीय केवल महतोको ज्यान गएको हो ।

सर्लाहीको ईश्वरपुर नगरपालिका बाँकेमा भएको झडपको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीको गोली लागेर तीन जना स्थानीय घाइते भएका छन् भने स्थानीयहरुको ढुंगामुढाबाट ८ जना प्रहरी घाइते छन्।

ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक बालकको ज्यान गएको थियो । ईश्वरपुर नगरपालिका १३ का लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको शब आइतवार विहान खाल्टोबाट निकालिएको थियो।

अबैध उत्खनन्ले बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा स्थानीयले राजमार्ग अबरुद्ध गरेका थिए । अवरुद्ध राजमार्ग खुलाउन गएको प्रहरी र उनीहरुबीच झडप भएको हो ।

सडक खुलाउन पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको थियो । स्थानीयले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले हवाइ फायर गर्नुका साथै गोली चलाएको हो ।

२ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीका अनुसार भीड नियन्त्रणका क्रममा दर्जनौं राउन्ड अश्रुग्यास, रबर गोली तथा हवाई फायर गरेको थियो। स्थिति नियन्त्रणमा नआएपछि जिल्ला सुरक्षा समितिको निर्देशनमा फायर गरेको र त्यसक्रममा एकको मृत्यु भएको डिआइजी कार्कीको भनाई छ ।