विश्वकप क्रिकेट : इंग्ल्याण्डद्वारा भारत ३१ रनले पराजित

काठमाडौं,

आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आइतबार भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले बलियो मानिएको भारतविरुद्ध ३१ रनको जित हासिल गरेको छ ।आइतबारको खेलमा इंग्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ३०६ रन मात्र बनाउन सक्यो ।

सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राख्नका लागि जित्नै पर्ने दबाबमा रहेको इंग्ल्याण्डले महत्वपूर्ण जित हासिल गरेको हो । तर उसको सेमिफाइनल प्रवेश अझै निश्चित भइसकेको छैन । सन् १९९२ यता इंग्ल्यान्डले विश्वकपमा भारतलाई पराजित गरेको यो पहिलोपल्ट हो ।

जारी विश्वकपमा भारतको यो पहिलो पराजय हो । लिग चरणमा उसले श्रीलंका र बंगलादेशसँग खेल्न बाँकी छ । त्यसमध्ये एक खेलमा जित हासिल गरे पनि भारत सेमिफाइनलमा पुग्नेछ ।

८ खेलबाट इंग्ल्याण्डको १० अंक भएको छ । समान खेलबाट न्यूजिल्याण्डको ११ र ७ खेलबाट भारतको पनि ११ अंक छ । ८ खेलबाट पाकिस्तानको ९ अंक छ । अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेमा र इंग्ल्याण्डले न्यूजिल्याण्डसँग पराजय व्यहोरेमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ ।

आज श्रीलंका र वेष्टइण्डिजवीच खेल हुने तालिका छ ।