मन्त्रीज्यूहरू मल ल्याउने भन्दै विदेश जान्छन् तर कमिसनको चक्करमा डुबेर आउँछन् : भैरवसुन्दर श्रेष्ठ

मन्त्रीज्यूहरू मल ल्याउने भन्दै विदेश जान्छन् तर कमिसनको चक्करमा डुबेर आउँछन् : भैरवसुन्दर श्रेष्ठ


राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल आउन नसकेको बताएका छन् ।  आज सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको बताए । मल र बिउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले  विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताए ।  

मन्त्रीहरू मल लिनका लागि भनेर विदेश गए पनि त्यहाँ गएर भूमाफियाहरूको कमिसनमा डुबेर आउने गरेको र मल छिट्टै आउँछ भनेर जनतालाई ढाँट्ने गरिएको उनको भनाइ छ । उनले भने, ‘कमिसनको चक्करमा यो सरकार फसेको छ । नेपालमा धान उत्पादनको निम्ति मल, बिउ समयमै ल्याइँदा नेपालमा उत्पादन वृद्धि हुन्छ, नेपाली जनता आफैँमा आत्मनिर्भर हुन्छन् र कृषिजन्य उपजहरू नेपालमा आयात हुने क्रम घट्दै जान्छ । तर सरकार कमिसनको चक्करमा यसो गर्न चाहँदैन । मन्त्रीज्यूहरू मल ल्याउने भन्दै विदेश जान्छन् तर कमिसनको चक्करमा डुबेर आउँछन् अनि सदनमा उभिएर मल चाँडै आउँछ भनेर जनतालाई ढाट्छन् ।’

राष्ट्रिय सभा सदस्य श्रेष्ठले वर्तमान सरकार देश र नागरिकप्रति बफादार नभएको भन्दै सरकार रहुन्जेल देशलाई बरबादीमा पुर्‍याउने तर्क गरे । यो सरकारको छिटोभन्दा छिटो बहिर्गमनको आवश्यकता रहेको उनको भनाइ थियो । 

Logo