आधिकारिक लोगो सार्वजनिक गरेको स्पोर्ट ग्रुप अफ भ्यालीले ट्राफिक जनचेतनामा काम गर्ने

आधिकारिक लोगो सार्वजनिक गरेको स्पोर्ट ग्रुप अफ भ्यालीले ट्राफिक जनचेतनामा काम गर्ने


स्पोर्ट वाइक प्रयोगकर्ताहरुको समुह स्पोर्ट ग्रुप अफ भ्यालीले आधिकारिक लोगो र टिसर्ट सार्वजनिक गरेको छ । 

वाइकमा देशका विभिन्न स्थानहरुमा राइड गर्दै आइरहेको यो समुहले एक कार्यक्रमको आयोजना गरी आधिकारिक लोगो र टिसर्ट सार्वजनिक गरेको हो । ग्रुपले ट्राफिक जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्दै जाने जनाएको छ । 

ग्रुपका क्याप्टेन एवं अध्यक्ष प्रविन कुमार मैनालीका अनुसार यो समुहमा स्पोर्ट वाइक पारखीहरुको उल्लेख्य सहभागिता रहँदै आएको छ । ग्रुपले विशेषत छोटोछोटो दुरीमा राइड आयोजना गर्दै आएपनि पछिल्लो समय अरनीको राजमार्ग हुँदै कोदारीसम्म समेत राइड गरिसकेको छ । शुरुमा २-४ जना राइडर मिलेर सन् २०१७ मा स्थापना भएको यो ग्रुपमा अहिले दर्जनौ संख्यामा राइडर सहभागी भएका छन् । यसरी राइड गर्दा आन्तरिक पर्यटनको प्रवद्र्धनमा समेत टेवा पुग्ने अध्यक्ष मैनालीले बताए ।

ग्रुपले प्रतिस्पर्धामा आधारित राइड भन्दा पनि ट्राफिक नियमलाई इमान्दारिता पूर्वक पालना गर्दै पारिवारिक राइड गर्दै आइरहेको छ । जसका कारण राइडरले सुरक्षा जोखिममा पर्न सकिने स्टन्ट र उच्च स्पिडमा वाइक कुदाउने लगायतका कार्यहरु गर्न पाउने छैनन् । स्पोर्ट फेयरिङ वाइक भएका जोकोही पनि राइडरको ग्रुपमा सजिलै सहभागी हुन सक्नेछन् ।

ग्रुपमा अहिले कावासाकी निन्जा, केटिएम आरसी, ह्योसुङ जीटीआर, होन्डा सिविआर, वेनेली, टिभिएस अपाचे आरआर र यामाहा आर३ तथा आर१५ लगायत वाइक प्रयोग गर्ने राइडर सहभागी छन् ।

Logo