एक महिलाले हिड्दा हिड्दै सडकमै बच्चा जन्माईन्

विराटनगर । विराटनगरमा एक महिलाले सडकमै बच्चा जन्माएकी छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–७ गैसारकी ३५ वर्षीया सालु सरदारले मोरङको विराटनगरस्थित सडकमै बच्चा जन्माएकी हुन् ।

विराटनगर बसपार्कमा उनले बच्चालाई जन्म दिएकी हुन् । बच्चा जन्मिएका बेला आवश्यक पर्ने कपडा किन्न भारतको जोगवनी बजार जाने क्रममा विराटनगर बसपार्क आइपुगेपछि उनलाई प्रसव पीडाले च्यापेको थियो । त्यही क्रममा उनले छोरालाई जन्म दिएकी हुन् । महिलाले खाली भूइँमै शिशु जन्माएको कुरा सुनेपछि स्थानीयले सहयोग गरेका थिए ।

सालुलाई नवजात शिशुसहित विराटनगर–११ जनपथकी सन्तोषी श्रेष्ठले प्रहरीसँग समन्वय गर्दै आफ्नो बा १६ च ३६७९ नम्बरको कारमा राखेर उपचारका लागि कोसी अस्पताल पुर्‍याएकी थिईन् । प्रसव पीडाले छटपटाइरहेकी महिला सडकमै सुत्केरी भएपछि उद्दार गरेर अस्पताल पुर्‍याइएको श्रेष्ठको भनाई छ ।

तस्बिरः सन्तोषी श्रेष्ठको फेसबुकबाट

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले खुल्ला ठाउँमा महिला सुत्केरी भएको सूचना प्राप्त भएपछि स्थानीयसँग समन्वय गर्दै सुत्केरी अवस्थाकी महिला र नवजात शिशुलाई उद्दार गरिएको बताए ।

सुत्केरी महिलाको उपचार सुरु गरिएको श्रेष्ठले बताइन्। भुइँमा जन्मिए पनि शिशुलाई चोटपटक लागेको छैन। ‘बसपार्कमा बच्चा जन्मिएपछि एक महिलाले तत्काल तन्ना दिइन्’, उनले भनिन्, ‘एक जनाले चाउचाउ पकाएर आमालाई खुवाइन्।’ त्यहाँ भेला भएकाहरूले १ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए।

सालुका श्रीमान ४० वर्षीय राजकुमारको दुई महिनाअघि निधन भएको थियो। घरमा उनी र १२ वर्षीय छोरा अमित छन्। श्रीमानले ट्रक चलाएर परिवार पाल्दै आएका थिए । श्रीमानको निधानपछि बिहान–बेलुकाको खानेकुरा पनि जुटाउन नसकेको ति महिलाको भनाई छ । सम्पत्तिका नाममा एउटा झुप्रो घरबाहेक केही नरहेको उनले बताईन् ।

अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले सुत्केरी आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। उनका अनुसार शिशुको तौल २.७ किलो छ ।