भीमदत्तलाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

महेन्द्रनगर । भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा. दिपक प्रकाश भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम गरी घोषणा गरिएको छ ।

भीनपाका सबै १९ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरी नगरपालिकालाई घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणाका लागि गत बैशाखमा घरधुरी सर्भेक्षण गरी खोप लगाउन छुटेका बालबालिकाका लागि ११ रोगका विरुद्ध खोप सञ्चालन गरिएको थियो । नगरपालिकामा १५–२३ महिनाका एक हजार तीन सय ८६ मध्ये खोपबाट वञ्चित ४१ बालबालिका भेटिएका थिए ।

भीनपा स्वास्थ्य तथा सरसफाई उप शाखाका अनुसार नगर क्षेत्रमा जन्मेदेखि १५ महिनासम्मका एक हजार नौ सय दुई बालबालिका छन् । नगरपालिकाले घरधुरी सर्भेक्षणका क्रममा भेटेका सबै बालबालिकालाई बिसीजी, डिपिटी, एचबी, पोलियो, दादुरा रुबेला लगायतका ११ रोगका विरुद्ध खोप लगाएको छ ।

घोषणा सभाका प्रमुख अतिति डा. भट्टले लामो समयदेखि सञ्चालन हुँदै आएको खोप अभियान निरन्तर रुपमा अघि बढेको बताए । ‘यो अभियान २०२४ सालदेखि सञ्चालन हुँदै आएको छ, यसलाई निरन्तरता दिने विश्वास गरिएको छ’ उनले भने,‘स्वास्थ्यलाई व्यवस्थित ढङ्गले अघि बढाउने गरी अघि जानु पर्छ ।’

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले घोषणालाई सार्थक र दिगो बनाउन थप कार्यक्रम सञ्चालन गरिने बताए । ‘आज पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ, यसमा सहयोग गर्न हुने सबैलाई धन्यवाद दिन चाहन्छौ, आगामी दिनमा स्वास्थ्य क्षेत्रको विकासका लागि सबैसित सहकार्यलाई निरन्तरता दिन्छौ’ उनले भने,‘ यसलाई दिगो बनाउन थप कार्यक्रम सञ्चालन गर्छौ ।’

स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुको भूमिका सराहनीय भएको उल्लेख गर्दै उनले नगरपालिकाले क्षमता अभिवृद्धि, सेवा सुविधा सुविधा वृद्धि लगायतका कार्यक्रमलाई प्राथमिकता दिएको बताए । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिहले पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणालाई सफल बनाउने महिला स्वास्थ्य स्वयम् सेविका, कर्मचारी, स्थानीय सबैलाई धन्यवाद दिइन् ।

स्वास्थ्य विभागका अनुसार देशभर अझै ८३ प्रतिशत बालबालिका खोप सेवाबाट वञ्चित छन् । सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुर बाहेक पहाडी जिल्लामा खोप लगाउने बालबालिकाको दर सन्तोसजनक नभएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

महाकाली कोरिडोर निर्माण हुन्छः सांसद भट्ट
सांसद भट्टले महाकाली कोरिडोर निर्माण कार्य छिट्टै सुरु हुने बताए । ‘वातावरणी प्रभाव मूल्याङ्कन (ईआईए) गरी अध्ययन टोली फर्किएको छ, त्यो टोलीले रिपोर्ट फाइनल गरी सार्वजनिक सुनुवाई गर्छ’ घोषणा सभामा उनले भने, ‘त्यसपछि महाकाली कोरिडोर निर्माण अघि बढ्छ ।’

पूर्व प्रधानमन्त्री झलनाथ खनालको पालामा ब्रह्मदेबदेखि दार्चुलाको टिंकरसम्म महाकाली लोकमार्ग अर्थात महाकाली कोरिडोर निर्माण सुरु गरिएको थियो । भीनपा ९ ब्रह्मदेबमा केही स्थानीयले विरोध गरेपछि निर्माण कार्य अवरुद्ध हुन पुगेको थियो । त्यसपछि बैतडीबाट कोरिडोर निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।