बैंकमा कोरोना असर : निषेधाज्ञामा एक बैंकका पाँच शाखा संचालन, प्रतिसंस्था ५० जना कर्मचारीले सेवा दिँदै

बैंकमा कोरोना असर : निषेधाज्ञामा एक बैंकका पाँच शाखा संचालन, प्रतिसंस्था ५० जना कर्मचारीले सेवा दिँदै


काठमाडौं ।

अहिले बैंक तथा वित्तीय संस्थामा प्रतिसंस्था ५० जना कर्मचारीले मात्रै सेवा दिइरहेका छन् । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरले न्युनतम कर्मचारी राखेर सेवा दिइरहेका छन् ।

पछिल्लो समय अधिकांश बैंकका कर्मचारीहरुलाई पनि कोरोनाको संक्रमण देखिएको छ । त्यसका साथै कोरोनाको संक्रमण कम गर्न नेपाल राष्ट्र बैंकले समेत न्युनतम कर्मचारी राखेर न्युुनतम शाखामार्फत बैंकिङ सेवा दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन समेत दिएको थियो । अहिले काठमाडौँ उपत्यकामा हरेक वाणिज्य बैंकका पाँच वटा शाखा मात्रै खुलेका छन् ।

कोरोनाको सम्भावित जोखिम न्युनिकरण गर्न बैंकमा ५० जना कर्मचारी मात्रै डाकेर सेवा दिइरहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘अहिले हामीले राष्ट्र बैंकसँग भ्यालीमा ५० जना कर्मचारीहरुले बैंक खोल्ने भन्ने सहमति भएको छ ।’ अध्यक्ष दाहालले भने । अहिले बैंकका ट्रेजरी, क्लियरिङ, विफ्ट, ट्रेड फाइनान्स र प्रमुख कार्यालय खुलेका छन् ।

कुल कारोबारको ६० प्रतिशत कारोबार काठमाडौँ उपत्यकाबाट हुने गर्छ । त्यस्तो स्थानको कारोबार ५÷६ वटा शाखाले धान्नु परेको उनले बताए । लकडाउन कोरोनाको समाधान नभएको भन्दै कोरोनासँगै अघि बढ्नुको विकल्प नभएको अध्यक्ष दाहालको भनाइ थियो । बैंकमा स्वास्थ्य सम्बन्धी कडा मापदण्ड अपनाउँदै बैंकिङ सेवा दिइरहेको उनले बताए ।

त्यसैगरी, नेपाल बैंकले पनि काठमाडौँ उपत्यकामा पाँच वटा शाखा खोलेको छ । मुलुकभरी बैंकका १ सय ८९ शाखा छन् । यी शाखा मध्ये यतिबेला मुलुकभरी ९५ वटाको हाराहारीमा शाखा खुलेका छन् । सेवा दिँदा दिँदै आफ्ना कर्मचारीहरुमा पनि जोखिम बढेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए । कर्मचारीहरुलाई पनि आलोपालो गरी काममा बोलाइएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए । कतिपय घरबाटै पनि काम भइरहेको उनले बताए ।

पछिल्लो समय काठमाडौँ उपत्यका लगायत विभिन्न स्थानमा कोरोनाको संक्रमण बढेपछि सरकारले करिब ५० जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समय बैंकका कर्मचारीहरुलाई समेत प्रहरीले अवरोध गरेको थियो ।

बैंकिङ क्षेत्र अत्यावश्यकीय सेवाभित्र पर्ने भए पनि सीमित शाखा खोल्न दिने गरी स्थानीय प्रशासन, राष्ट्र बैंक र बैंकहरुबीच सहमति भएको थियो । तर सहमति विपरित प्रहरीले बैंकका कर्मचारीलाई धरपकड गरेपछि बैंकका सबै शाखाहरु बन्द भएका थिए । पछि जिल्ला प्रशासन कार्यालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारी आवत जावत गर्ने वातावरण मिलाउन निर्देशन दिएपछि बैंक खोल्न केही सहज भएको थियो । त्यतिबेला प्रहरीले बैंकका कर्मचारीलाई पक्राउ गरेर कतिलाई थुन्ने त कतिलाई पिट्ने समेत गरेको थियो । त्यसका साथै प्रहरीले कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरु लाई पनि बाटोमै रोकेको थियो ।

Logo