सिद्धार्थनगरमा उद्घाटन भएको तीन महिनामा पनि प्रयोगमा आएन वडा कार्यालय

सिद्धार्थनगरमा उद्घाटन भएको तीन महिनामा पनि प्रयोगमा आएन वडा कार्यालय


उद्घाटन भएको तीन महिनासम्म पनि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नंं ६ को कार्यालयबाट काम सुरु भएको छैन ।
भवन निर्माण सम्पन्न नहुँदै हतारमा गत चैत १५ गते उद्घाटन भए पनि अहिलेसम्म नगरपालिकाको भवनबाटै वडाको काम सञ्चालन हुँदै आएको छ ।

वडावासी विवेकानन्द मल्लिकले निर्वाचनको मुखमा हतारहतारमा वडा कार्यालय उद्घाटन गरिए पनि तीन महिनासम्म वडावासी नगरपालिकाको भवनमा धाउनुपर्दा सास्ती भएको गुनासो गरे ।  ‘तीन महिनासम्म सेवा सञ्चालन गर्न नसक्ने भए हतारमा उद्घाटन गर्न किन हतार गरियो ? मल्लिकको प्रश्न छ । उक्त कार्यालय भवनको निवर्तमान मेयर हरिप्रसाद अधिकारीले उद्घाटन गरेका थिए ।

अर्का स्थानीय रामदयाल गुप्ताले दलीय स्वार्थ र आफूले जस लिन काम पूरा नहुँदै उद्घाटन गर्नु गलत प्रवृत्ति भएको बताए ।

सिद्धार्थनगर नगरपालिका ६ का वडाअध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले कार्यालय उद्घाटनको समयमा केही प्रतिशत काम बाँकी रहेका कारण नयाँ भवनको उद्घाटन भए पनि काम पुरानै कार्यालयबाट गर्नुपरेको बताए ।

उनका अनुसार कार्यालय भवन उद्घाटन गर्दा १० प्रतिशत काम बाँकी नै थियो । हाल झण्डै तीन महिना हुन लाग्दा पनि अन्य काम सकिए तापनि विद्युत जडानलगायतका काम अझै बाँकी रहेको उल्लेख गरे ।

 

Logo