बाघको जुँगा उखेल्नेलाई ५ लाख जरिवाना

बर्दियास्थित गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ।

उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो। तर, बाघ मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले बाघको जुँगा उखेली घरमा लुकाएको अभियोगमा रु पाँच लाख जरिवाना तिर्न लगाई रिहा गरिदिएको छ।

बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले बाघ मारेको आरोपमा पक्राउ परेका चौधरीलाई रु पाँच लाख जरिवाना तिराएको हो। फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो ।