कार्यालय चलाउन नसकेर हिँडेका हाकिमको मेयरविरुद्ध दुष्प्रचार

कञ्चनपुर । कृष्णपुर नगरपालिकामा सरुवा लिएर गएका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज जोशी नगर प्रमुख कर्ण बहादुर हमाललाई विवादमा ल्याउने प्रयासमा उत्रेका छन् । नगर सभामा वार्षिक नीति र कार्यक्रम पेश गरेको केही दिनपछि कार्यालय प्रमुख प्रशासकीय अधिकृत जोशी कार्यालय छाडेर हिँडेका थिए ।

स्थानीय सरकार सञ्चालनको अनुभव नभएका जोशी कृष्णपुर सरुवा भएपछि स्थानीय स्तरमा उनको कार्य क्षमतालाई लिएर चौतर्फी आलोचना भएको थियो । त्यसपछि कार्यालयमा हाजिर भए लगत्तै उनको कार्यशैलीले जनप्रतिनिधि र कर्मचारीबीच दुरी बढाएको थियो ।

कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिहरुका अनुसार प्रमुख प्रशासकीय अधिकृत जोशीको कार्य क्षमताले नगरपालिका सञ्चालनमा अवरोध आउन थालेपछि नगर प्रमुख हमालले पटक पटक उनलाई सुध्रिन आग्रह गरेका थिए । नगर प्रमुख हमालले दिएको निर्देशनलाई जोशीले वेवास्ता गरी लत्याउने गरेका थिए । ‘अहिले ती जे भनेर बाहिर हल्ला गरि रहेका छन्, त्यसमा कुनै सत्यता छैन, आफ्नो अकमर्णत्यता लुकाउन प्रचार गर्दै हिँडेका हुन्’ एक जनप्रतिनिधिले भने, ‘आफू नसकेर अरुलाई आरोप लगाएर मिडियामा आउनको कुनै र्औचित्य छैन ।’

प्रमुख प्रशासकीय अधिकृत जोशी प्रशासनिक क्षेत्रबाट आएकाले उनले स्थानीय सरकारको भावना र अर्थ नबुझेर समस्या उब्जिएको ती जनप्रतिनिधिको भनाई छ । ‘प्रशासनको सिडिओ हुन र नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृत हुन फरक कुरा हो, प्रशासन जसरी नगरपालिका चल्न सक्दैन’ उनले भने, ‘यस्तो हिसाबले जोशीज्यू त यहाँबाट त जानु भयो अन्त पनि टिक्न सक्नु हुन्न ।’

नगरपालिका स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत जोशीले नगरपालिकाका निर्णय कार्यान्वयनमा आनाकानी, उपभोक्ता समिति सहितका भुक्तानी अनावश्यक तनाव र कर्मचारीलाई दुःख दिन थालेपछि नगर प्रमुख हमालसित विवाद बढेको थियो । प्रमुख प्रशासकीय अधिकृत जोशीले आफू जिल्ला चलाएर आएको भन्दै नगर प्रमुख हमाललाई धम्क्याउन थालेपछि दुई जनाबीच सम्बन्ध चिसिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृतले सबै प्रक्रिया पूरा गरी अन्तिम भुक्तानीका लागि पेश गरिएका बिलमा समेत उपभोक्ता समितिलाई दुःख दिन थालेका गुनासा कार्यालयमा आउने गरेको कर्मचारीहरु बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सहायक प्रमुख जिल्ला अधिकारी बसेका जोशी यस अघि बैतडीमा प्रमुख जिल्ला अधिकारी थिए । बैतडीमा प्रमुख जिल्ला अधिकारी हुँदा जोशीले सुदूरपश्चिम पत्रकार महासंघका एक उम्मेदवारलाई चुनाव जिताउन रात दिन दौडधुप गरेको बैतडीका पत्रकारहरु बताउँछन् ।

अहिले उनी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सरुवा लिएर गएका छन् । राजनीतिक रुपमा अस्थिर जोशी शक्ति अनुसार राजनीतिक आस्था नजिक हुने गरेका छन् ।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हमालले प्रमुख प्रशासकीय अधिकृत जोशीले आफू विरुद्ध दुष्प्रचार गरेको देखेर दया लागेको बताए । ‘यताबाट सरुवा मागेर गइ सकेपछि मेरा विरुद्ध जे जति प्रचार गरिएको छ, त्यसलाई देखेर म अचम्ममा परेको छु’ उनले भने, ‘सबैलाई मिलाएर लैजानु पर्छ भन्दा अटेर गरियो, अहिले यस्तो प्रचार हुँदैछ ।’

नगर प्रमुख हमालले प्रमुख प्रशासकीय अधिकृत जोशी नगरपाकिाको आगामी वर्षको नीति, कार्यक्रम र बजेट रोक्ने लक्ष्यका साथ सरुवा लिएर हिँडेको बताए । ‘एउटा प्रमुख प्रशासकीय अधिकृत यतिसम्म सोचको पायौ, अर्को वर्षको सबै बजेट रोक्ने लक्ष्य रहेछ’ उनले भने, ‘सरुवा भएर ठिकै भयो, बजेट पारित गर्न छलफल गरिरहेका छौ, छिट्टै पारित गर्छौ ।’