सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै लगिन्छ : श्रममन्त्री कुँवर

सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै लगिन्छ : श्रममन्त्री कुँवर


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै लैजाने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्रले आज आयोजना गरेको एक कार्यक्रममा उनले   अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने उल्लेख गरे । 

अहिले औपचारिक क्षेत्रका श्रमिक मात्र सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । हालसम्म कोषमा तीन लाख ४४ हजार २४८ योगदानकर्ता र १७ हजार १५६ रोजगारदाता कोषमा आबद्ध भइसकेका छन् । कोषले आगामी आवदेखि अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि कोषको दायरामा ल्याउने गरी कार्यविधि निर्माण गरिरहेको छ । कार्यविधि अन्तिम चरणमा रहेको कोषले जनाएको छ ।

मन्त्री कुँवरले कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्दै लैजाने पनि बताउनुभयो । कोषले हाल योगदानकर्तालाई चार प्रकारका सुविधा दिँदै आएको छ । योगदानकर्ताले कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधा, दुर्घटना तथा अशक्तता सुविधा, आश्रित परिवार सुविधा र अवकाश सुविधावापत आर्थिक सहयोग प्राप्त गर्दै आएका छन् । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि कोषमा आबद्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमी बनाउन कोषले सहुलियत कर्जा प्रवाह गर्ने बताउनुभयो । कोषले आगामी भदौ १ गतेदेखि योगदानकर्तालाई विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिने जनाएको छ । 

कोषमा हालसम्म १९ अर्ब ६२ करोड रुपैयाँ योगदान रकम जम्मा भएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले श्रमिकको जीवनमा आइपर्ने जोखिम कम गर्न कोषले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अघि सारेको बताए । 

Logo