गृहमन्त्रीज्यूले नागरिकता विधेयकको भ्रूण हत्या गर्नुभयोः शेरबहादुर तामाङ

गृहमन्त्रीज्यूले नागरिकता विधेयकको भ्रूण हत्या गर्नुभयोः शेरबहादुर तामाङ


 प्रमुख प्रतितपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद तामाङले गृहमन्त्री खाणको उक्त प्रस्तावलाई भ्रूण हत्यासँग तुलना गरेका हुन् ।

‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो । मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता लिनुभयो, नजन्मिँदै भ्रूण हत्या भयो,’ पूर्वमन्त्री तामाङले भने, ‘नागरिकता कानुनको हत्या भयो, गर्भपतन भएको छ भर्खर । त्यो नगरियोस्, जन्मिन दिउँ ।’

नागरिकता विधेयकलाई फिर्ता नलिन सरकारसँग आग्रह गरेका उनले तीन वर्ष संसदीय समितिमा छलफल गरेर दलीय सहमति कायम भएको विधेयक फिर्र्ता लिन नहुनेमा जोड दिए ।

विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा फिर्ता लिन नहुने भन्दै उनले नमिलेका कुनै विषयमा पछि अर्को विधेयक ल्याएर संशोधन गर्न सकिने धारणा राखे ।

अन्तिम अवस्थामा विधेयक फिर्ता लिन नहुने भन्दै सांसद तामाङले अब फेरि ल्याउँदा शून्यबाट सुरु गर्नुपर्ने अवस्थाबारे जानकारी गराए ।

Logo