राहुल पछिको भारतीय कंग्रेस

दुस्यन्त दाहाल ।

राहुल गान्धिले भारतीय कंग्रेसको अध्यक्ष पदबाट बुधबार राजीनामा दिएपछि अब कसको नेतृत्वमा पार्टी अगाडि बढ्छ भन्नेमा बहस शुरु भएको छ । सन् १९४७ पछि भारतमा ऐतिहासिक पार्टीको रुपमा अगाडि आएको कंग्रेस यतिबेला संकटमा परेको छ । सन् १८८५ मा स्थापित पार्टीमा कुनैबेला शुवासचन्द्र बोस, जवाहरलाल नेहरु, लालबहादूर शास्त्रि, इन्दिरा गान्धि, राजिव गान्धिजस्ता दिग्गज नेताको नेतृत्व थियो । तर, त्यही कंग्रेस अहिले नेतृत्वविहिन बनेको छ ।

सन् २०१४ को लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीसँग पराजित भएपछि कंग्रेसलाई अब नयाँ अनुहार चाहिएको विश्लेषण गर्दै पार्टीले तत्कालिन उपाध्यक्ष राहुल गान्धिलाई भावि नेताका रुपमा स्थापित गर्न शुरु गरेको थियो । त्यसयता राहुलले पार्टीका लागि दिनरात योगदान गरेका थिए ।

उनको योगदानको कदर गर्दै गत वर्षको मे महिनामा पार्टीले राहुललाई अध्यक्ष नियुक्त गर्यो र आउँदै गरेको २०१९ को लोकसभा निर्वाचनका लागि पार्टीको कमाण्डर तोक्यो । राहुलको कमाण्डमा चुनावमा होमिएको कंग्रेस नराम्रोसँग पछारियो । यतिसम्म कि कंग्रेसको पुस्तौनी गढ मानिने उत्तर प्रदेशको अमेठीबाट राहुल आफू समेत पराजित भए । अमेठीबाट यसअघि इन्दिरा गान्धि, राजिव गान्धि, सोनिया गान्धिले चुनाव जित्ने गरेका थिए ।

आम निर्वाचनको परिणामबाट विक्षिप्त बनेका राहुलले नतिजा लगत्तै पार्टीको कार्यसमिति बैठकमा अध्यक्षबाट राजीनामा दिन खाजेका थिए । तर पार्टीका बरिष्ठ नेताहरुले तत्काल राजीनामा गर्नबाट उनलाई रोकेका थिए । निर्वाचनको परिणाम लगत्तै पद त्याग्दा पार्टीलाई राजनीतिक मात्र नभई मनोबैज्ञानिक क्षति समेत पुग्ने तर्क गर्दै पार्टीका वरिष्ठ नेता मोतीलाल बोहरालगायतले राहुललाई रोकेका थिए ।

तत्कालका लागि रोकिएका राहुलले अन्ततः पद त्याग गरेरै छाडे । चार पृष्ठ लामो निकै भावुक राजीनामा पत्रमा उनले अरुलाई जवाफदेही बनाउनुभन्दा पहिला आफु जवाफदेही हुनु जरुरी रहेको उल्लेख गरेका छन् । राहुलले राजीनामा पत्रमा जनता र पार्टीप्रति जवाफदेही बन्न जरुरी रहेको र आफुले अध्यक्षका रुपमा त्यसको उपेक्षा गर्न नसक्ने उल्लेख गरेका छन् ।

कंग्रेसमा अबको बाटो
राहुलको राजीनामापछि अब भारतीय कंग्रेस पार्टीलाई नयाँ र ताजा नेतृत्वको खाँचो रहेको छ । कंग्रेसले कसरी आफ्नो नेतृत्वको चयन गर्छ, त्यो सबैको चासोको विषय बनेको छ । यस्तो परिस्थितिमा भने कंगे्रसको विधानमा सबैभन्दा बरिष्ठ महासचिवलाई अस्थाई रुपमा अध्यक्षको काम सम्हाल्ने जिम्मा दिइने उल्लेख छ ।

कंग्रेसमा मोतीलाल बोहरा सबैभन्दा वरिष्ठ महासचिव हुन् । अब वोहराले पार्टीको कार्यसमितिको बैठक बोलाउदै पार्टीको भावी कदमबारे छलफल चलाउनु पर्नेछ । राजीनामा दिंदैै गर्दा राहुलले आफ्नो चार पृष्ठको पत्रमा एउटा महत्वपूर्ण कुरा उठाएका छन् । उनले भनेका छन्, भारतीय राजनीतिमा कंग्रेसले आफ्नो प्रतिद्वन्द्विलाई तबसम्म हराउन सक्दैन जबसम्म पार्टीभित्रका नेताहरु सत्ताको चाहानालाई छोड्दैनन् र एउटा विशाल विचारधारको लडाई लड्दैनन् ।

राहुलको यो भनाइको इशारा पार्टीका नेताहरुका लागि मात्र नभइ स्वयं आफैंलाई पनि थियो । सत्तामा आसिन भाजपाले सन् २०१४ मा एउटा विशाल विचारधाराको लडाई लडेको थियो, जसले उसलाई दोस्रो कार्यकालका लागि पनि सहजै सत्ताको बाटोमा डोर्याइदियो । राहुलको यस्तो भनाईबाट उनले भारतीय राजनीतिको धेरै शिक्षा पाएको र अन्ततः आफुलाई परिपक्व देखाएको विश्लेषण भारतीय सञ्चार माध्यमहरुले गरिरहेका छन् ।

पार्टीमा राहुलको अन्त्यपछि अब नेहरु–गान्धि परिवारका कोही सदस्य नयाँ नेतृत्व छान्न सक्रिय भुमिका निभाउलान की ननिभाउलान् ? यो अहिले भारतीय राजनीतिमा पेचिलो प्रश्न बनेको छ । सर्बसम्मतबाट चुनिएको नयाँ नेताले पार्टीलाई एकजूट राख्न सक्लान् ? यो पनि भविष्यमा नै थाहा हुनेछ ।

तर, राहुलले कंग्रेस पार्टीलाई दोबाटोमा ल्याएर छाडेका छन् । अध्यक्षका रुपमा आफु सफल नभएको ग्लानी गर्दै पार्टी त्याग्नु अघि उनले कंग्रेसलाई यस्तो स्थानमा स्थापित गर्नसक्नु पथ्र्यो जहाँ पार्र्टीलाई अघि बढाउने एउटा सबल नेतृत्व होस् । तर भावी नेतृत्वको प्रक्रिया शुरु हुन पूर्व नै उनले पार्टीलाई बिचमै छाडेर गएका छन् ।

पार्टीबाट राजीनामा गर्दै राहुलले दक्षिण एशियाली राजनीतिमा एउटा कुरा दह्रोसँग स्थापित गरिदिएका छन् । त्यो हो, नैतिक जिम्मेवारी । उनी नैतिक जिम्मेवारी लिनबाट चुकेनन् र राजीनामा गरि छाडे । उनको राजीनामासँगै दक्षिणी छिमेकी भारतमा अब विरासत र परिवारवादको राजनीति सधैंका लागि सकिएको विश्लेषण गरिएको छ ।