बालबालिकासँग हामी : हाम्रो दायित्व
  • कौशिला रिसाल-

सर्वप्रथम बालबालिका को हुन् ? बुझ्न जरूरी छ । मतलब हामी सबैले बालबालिकासँग दिनहुँ सङ्गत गरिरहेका हुन्छौँ । सँगै बस्छौँ, सँगै यात्रा गछौँ, पढाउँछौँ । तर पनि बालबालिका चिनेका हुँदैनौँ । अर्थात् ० देखि १२ वर्ष उमेर (यो उमेरभित्र पनि विभिन्न क्याटागोरी हुन्छ) का व्यक्ति बालबालिका हुन् भन्नेसम्म पनि कसैलाई ज्ञान नहुन सक्छ । उनीहरूसँग कसरी व्यवहार गर्ने भन्ने ज्ञान नभएसम्म सँगै बस्दैमा हामीले बालबालिका चिनेका छौँ भन्ने हुँदैन । बालबालिका र हामी ठूला मान्छेमा कति फरक छ भन्ने पनि थाहा नहुन सक्छ । जो आमाको भूमिकामा हुन्छिन् उनलाई पनि बालबालिका सम्बन्धी यावत् ज्ञान हुन्छ भन्ने छैन । अर्काे कुरा मननीय छ- १२ वर्षदेखि १६ वर्षसम्म उमेरका व्यक्तिहरू जो किशोर किशोरी हुन् । यी समूहलाई पनि हामीले बालबालिकाकै रूपमा राखेर हेर्ने गरेका छौँ । यद्यपि यहाँ उमेर नछुट्याइकन १६ वर्षसम्मका बालबालिकाप्रति लक्षित गरी बालबालिकामैत्री अनुभव बाँड्ने प्रयास गरिएको छ ।

हामीलाई हिड्दा, बोल्दा, खाँदा बालबालिकाका व्यवहार सामान्य लाग्छन् । उनीहरूका कुरालाई पनि हल्का लिइदिन्छौँ । तर, यो होइन बालबालिका हामीभन्दा ज्यादै संवेदनशील हुन्छन् । साना साना कुराका अध्ययन गर्न र बुझ्न रूचाउँछन् । जिज्ञासा राख्न मन पराउँछन् । किन भन्ने प्रश्नको उत्तरबाट आफू सधैँ सन्तुष्ट हुन चाहन्छन् । उनीहरूमा सरलता, विशालता, कोमलता सबै कुरा पाइन्छ । उनीहरूलाई हामीले हामीजस्तै संवेदनशील मानवका रूपमा स्वीकार गर्नुपर्छ ।

बालबालिकासँग कसरी व्यवहार गर्ने ?

अभिभावक र शिक्षकले उनीहरूसँग गर्ने व्यवहारमा ध्यान पु¥याउनुपर्छ । ठूला व्यक्तिलाई सामान्य लाग्ने व्यवहारले बालकहरूमा नकारात्मक भावनाको सृजना हुन जान्छ । उनीहरूसँग सम्मानजनक भाषाको प्रयोग गर्ने गर्नुपर्छ । उनीहरूका साना गल्तीलाई सामान्य रूपमा लिएर सहजीकरण गरिदिनुपर्छ । समूहमा बस्न, पालो दिन र जिम्मेवारी निर्वाह गर्न सिकाउनुपर्छ ।

घर र विद्यालयमा बालमैत्री वातावरणको सृजना गर्न सहयोग गर्नुपर्छ । घरायसी कुरामा अनुशासन, साना साना काममा जिम्मेवारी दिने गर्नु राम्रो हुन्छ । जस्तै–भान्छामा अचार बनाउन लगाउने । बाथरूममा साना साना कपडा रूमाल, मोजा आदि धुन लगाउने । कोठामा पुस्तक मिलाएर राख्न लगाउने । सामान मिलाउन लगाउने । बालबालिकाका आफ्ना सामान ठिक ठाउँमा राख्न लगाउने । कोठा सफा गर्न लगाउने । कपडा पट्याउन लगाउन सकिन्छ । उनीहरूलाई घर र विद्यालयमा पनि सम्मानजनक भाषाको प्रयोग हुनपर्छ, गरिनुपर्छ ।

पाठ्यपुस्तकका अलवा बालसामग्री (बाल साहित्य पुस्तक) अध्ययनमा सहयोग

एक–दुई वर्षका बालकले शिशुगीत, बाललोहरी, चित्र, दृष्य आदिबाट सिक्छन् । २ देखि ४ वर्षका बालबालिकाले खेल गीत, बाल लोकगीत, सङ्गीतका धुन आदिबाट धेरै कुरा सिक्न सक्छन् । त्यस्तै ४– ७ का बालबालिकाले चित्रबुक र बालकथालाई रूचि दिने हुनाले यसैलाई निरन्तरता दिन सकिन्छ । ७–९ वर्ष बालबालिकाको अति महत्वपूर्ण उमेर हो । यो उमेरमा बौद्धिक र शारीरिक रूपमा धेरै विकास भएको हुन्छ । विभिन्न स्वादका बालसामग्री बालकथा, बालनाटक, बालउपन्यास लगायतका सामग्री उपलब्ध गराउनुपर्छ । बालनाटक, बालकथा, बालउपन्यास आदि । त्यस्तै ९–१२ उमेरका बालबालिकाको शारीरिक र बौद्धिक विकास राम्रो भएको हुँदा तिनीहरूका मनोविज्ञान बुझेर व्यवहार गर्नुपर्छ । यो उमेर भनेको भय र स्वाभिमान बिचको उमेर हो । यस उमेरका बालबालिकाले प्रशस्त बालसामग्री रुचिसाथ पढन सक्छन् । यसपछिको उमेरका बालबालिकालाई विशेष गरी किशोर साहित्यका सामग्री उपलब्ध गराउनुपर्छ । बौद्धिक क्षमताको विकास गर्ने महत्वपूर्ण उमेर नै किशोर उमेर हो ।

उमेर अनुसार बालबालिकालाई श्रव्य दृष्य, चित्रकथा, बालकथा, बालगीत, बालनाटक, बालउपन्यास बालपत्रिका, किशोर साहित्य लगायतका बालमैत्री सामग्रीको अध्ययनमा प्रोत्साहन गर्नुका साथै यी सामग्री उपलब्ध गराउनुपर्छ । बालबालिकामा नयाँ नयाँ शब्द भण्डारको ज्ञान तथा विकासमा यी सहयोगी हुन्छन् । साथै सामाजिक सांस्कृतिक विविधताको ज्ञानमा यिनले सहयोग गर्दछन् । बालबालिकाले जति धेरै सुन्छन् त्यति धेरै तिनका अभिव्यक्ति क्षमताको विकासमा सहयोग पुग्दछ । जति धेरै आफ्ना कुरा निर्धक्क राख्न सक्षम हुन्छन् त्यति धेरै लेख्न सक्छन् । लिखित ज्ञान दीर्घकालीन हुन्छ । सुरक्षित र प्रमाणिक पनि हुन्छ । तसर्थ पाठ्यपुस्तकका अलवा प्रशस्त पठन सामग्री अध्ययनको व्यवस्था विद्यालय र घरमा हुनु आवश्यक छ ।

यसो गरौँ

बालबालिकालाई निशेधात्मकभन्दा पनि सकारात्मक कुरा बढी गर्नुपर्छ । कुनै काम गरिनस् भन्नुभन्दा पनि यो गर्दा राम्रो हुन्छ /हुन्थ्यो भन्नेतिर अभिप्रेरित गर्नुपर्छ । बालबालिकासँग प्रोत्साहनको भाषा प्रयोग गर्नुपर्छ । बालमैत्री भाषाको प्रयोगमा ध्यान पु¥याउनुपर्छ । उनीहरूलाई भोलिको जिम्मेवार नागरिकको रूपमा बुझेर त्यसैअनुसार व्यवहार गर्नुपर्छ । तिनले देशका विभिन्न कार्यलयमा/मन्त्रालयमा बसेर विभिन्न कार्यभार सम्हाल्दै गरेको कल्पना गर्दै यही कल्पनालाई साकार पार्न अभ्यास गरौँ । यो पनि नभनौँ कि दाजु या दिदी त यस्तो/यस्ती थिएन/थिइन अर्थात् तँ भन्दा भाइ वा बहिनी जाति । अरूका अगाडि बालबालिकाका कमजोरी उजागर नगरौँ । परिवारमा खुबी भएका र गर्न सक्ने कोही थिएनन् यसले पनि गर्दिन वा गर्दैन भनेर हरेस खुवाउनु हुँदैन । अन्य साथीसँग राम्रो वा नराम्रो दुवै कुराको तुलना नगरौँ । उनीहरूका अघि धेरै तारिफ गर्नभन्दा पनि अभिप्रेरणाको लागि आवश्यक मात्र बोल्ने गरौँ । समग्रमा यसो भनौँ – बालबालिका जसका संरक्षणमा रहन्छन् ती अभिभावकले आफूसँग बालबालिकालाई सुरक्षित महसुस गराउन सक्नुपर्छ । यसका लागि घरपरिवार तथा विद्यालयमा शान्त र सुरक्षित वातावरणको सृजना गरौँ ।

प्रत्येक व्यक्तिमा कुनै न कुनै क्षमता लुकेर रहेको हुन्छ । भोलि बन्ने पेशा वा पदले भन्दा पनि उनीहरूको काम गर्ने शैलीले मानिसले चिनून् । अरूले गरेकै कामलाई फरक किसिमले गर्न सकून । अझ बढी त हो मात्र भनून्, आफूले भनेको मात्र मानुन् भन्ने अभिभावक र शिक्षकको सवाल छ त्यसमा बालबालिकाको विचारको पनि कदर गरिनुपर्छ । केही कुरामा बाहेक निर्णय गर्ने अधिकार पनि उनीहरूमा नै छोडिदिनुपर्छ । यसो गर भन्दा किन भन्न पाउने अधिकार बालबालिकामा छ । नाइ भन्ने अधिकार पनि छ । बालबालिकाले नाइ भने भनेर नराम्रो लिनु हुँदैन । हामीले उनीहरूलाई बुझाउन सक्नुपर्छ । कसैले भनेको कुरामा सधैँ बालबालिका सहमत हुन्छन् भन्ने छैन । हाम्रो व्यवहारले कति बुझाउन सकियो भन्ने पनि हो ।