छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु


रौतहट, सुनसरी, दाङ, स्याङ्जा, चितवन र मोरङमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।रौतहटको गौर नगरपालिका–७ सिसवास्थित सडकमा अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्करबाट आइतबार साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय नन्दकिशोर पाण्डे रहेका छन्।

ठक्करबाट गम्भीर घाइते भएका नन्दकिशोरको जिल्ला सरकारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगन्जस्थित सडकमा को.२ त २१५८ नम्बरको ट्रयाक्टरले को.२८ प ९३९९ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार देवानगन्ज गाउँपालिका–४ बस्ने ५५ वर्षीया जयमुन खातुन रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

स्याङ्जाको गल्याङ नगरपालिका–८ चिउरीस्थित सडकमा ग.१३ प ६०७४ नम्बरको स्कुटर आइतबार बेलुकी दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १७ वर्षीय धन बहादुर थापाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का एक जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

चितवनको भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क नजिक सडकमा ना.५ ख ८४९७ नम्बरको ट्रकले ना.२६ प ४८५१ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटरमा सवार ईच्छाकामना गाउँपालिका–३ बस्ने २० वर्षीय सन्दिप गुरूङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

दाङको घोराही उपमहानगरपालिका–१० जलौरा चोकमा बा.०१–२५ च ७७६४ नम्बरको कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय देबराज चौधरी रहेका छन् । उनको आइतबार बेलुकी मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका देबराजको राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको विराटनगर महानगरपालिका–१२ कोशी प्रोजेम्टस्थित सडकमा प्र.१–०२–०४९ प ६२५८ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–१५ बस्ने ४५ वर्षीय भोला श्रेष्ठ रहेका छन्। उनको आइतबार बेलुकी मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार मृतकका भतिज १२ वर्षीय सुसान्त श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

Logo