विश्वकप क्रिकेट : पाकिस्तानद्वारा बंगलादेश ९४ रनले पराजित

काठमाडौं,

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ । पाकिस्तानले बंगलादेशलाई ९४ रनले हराए पनि सेमिफाइनलमा पुग्न भने सकेन ।

जितसँगै पाकिस्तानले नौ खेलमा ११ अंक बनाएको छ । तर रनरेटमा न्यूजिल्याण्डभन्दा निकै पछि परेका कारण पाकिस्तानको यो विश्वकप यात्रा समाप्त भयो ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै ३१५ रन बनाएको थियो । उसका लागि इमाम उल–हकले १०० रनको शतकीय योगदान दिए । यस्तै बाबर अजम ९६ रन बनाउँदा शतकबाट चार रनले चुके । ३१६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा २२१ रनमा अलआउट भयो ।

शुक्रबारको खेलसँगै सेमिफाइनलमा पुग्ने ४ टिमको टुंगो लागेको छ । भारत, अष्ट्रेलिया, इंग्ल्याण्ड तथा न्यूजिल्याण्डले अन्तिम चारको यात्रा सुरक्षित गरेका छन् । आज २ वटा खेल हुदैछन् । आज भारत र श्रीलंका तथा दक्षिण अफ्रिका र अष्ट्रेलियावीच खेल हुने तालिका छ ।