पोखरा महानगरले दियो सामुदायिक स्कुललाई विद्यार्थी बोक्ने बस

पोखरा महानगरले दियो सामुदायिक स्कुललाई विद्यार्थी बोक्ने बस


पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन स्कुल बस सञ्चालन गरेको छ । 

लेखनाथ क्षेत्रका ४ वटा विद्यालयलाई एक/एक वटा बस दिइएको हो । पोखरा-२९ को जनप्रकाश मावि, पोखरा-३० को त्रिभुवन शान्ति मावि, पोखरा-३१ को अम्मरसिंह मावि र पोखरा-३२ को ब्रह्मरुपा माविलाई स्कुल बसको चाबी हस्तान्तरण गरिएको हो । सम्बन्धित विद्यालयले प्रतिविद्यालय १२ लाख ५० हजार रुपैयाँ र पोखरा महानगरको तर्फबाट त्यति नै लगानीमा बस खरिद गरिएको हो ।

एक करोड एक लाखको लागत भन्सार छुट सुविधामा टाटा कम्पनीका चार वटा स्कुल बस ल्याइएको महानगर शिक्षा महाशाखाले जनाएको छ । उक्त बसमा चालकबाहेक ४० सिट क्षमता छ । बसको चावी हस्तान्तरणपछि मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई समुदायिक विद्यालय बन्नेगरि गुणस्तरमा सुधार ल्याउने बताए । पोखरामा झण्डै ८५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढ्दै आएको तथ्यांक छ ।

मेयर आचार्यले पोखरामा साना विद्यार्थीलाई बोर्डिङको नाममा घण्टौंसम्म बसमा चढाएर विद्यालय पु-याउने गरिएको भन्दै त्यसरी राम्रो सिकाई नहुने बताए । विद्यार्थीलाई सामुदायिक विद्यालयमै रुची बढाउने कार्यक्रम महानगरले ल्याउने र त्यसका लागि विज्ञसँग छलफल गरिने उनको भनाइ छ ।

Logo