छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


रुपन्देही, मोरङ र झापामा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । 

रूपन्देहीको ओमतिया गाउँपालिका–४ बालापुरस्थित सडकमा लु.३ च ५५६४ नम्बरको पिकअप र लु.४० प ३२५८ नम्बरको मोटरसाइकल ठोक्किँदा सोमबार एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका–४ मटेरिया बस्ने २० वर्षीय अखलेस यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ गुप्ता नर्सरीस्थित सडकमा लु.४० प ५९८९ नम्बरको मोटरसाइकल मंगलबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक मर्चवारी गाउँपालिका–१ बस्ने १९ वर्षीय रामचन्द्र केवट रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । 

मोरङको विराटनगर महानगरपालिका–१४ राघाकृष्ण राईस मिल नजिक सडकमा ना.६ ख १८३४ नम्बरको ट्याङ्करको ठक्करबाट सोमबार साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–१३ बस्ने ५५ वर्षीय विजय बानियाँ रहेका छन् । 

ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित सडकमा को.२ च २०६३ नम्बरको पिकअपले मे.१ ह ४६४४ नम्बरको अटोलाई सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अटो चालक सोही गाउँपालिका–७ बस्ने ४१ वर्षीय भानु खड्का रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका भानुको सिटी अस्पताल हुँदै बी एण्ड सी अस्पताल विर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका अटोमा सवार एक जनाको सिटी अस्पताल र अर्का एक जनाको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । 

Logo