विपन्न वर्गको आर्थिक अवस्था सुधार गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रमले टेवा पुर्‍याएको छ : श्रममन्त्री कुँवर

विपन्न वर्गको आर्थिक अवस्था सुधार गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रमले टेवा पुर्‍याएको छ : श्रममन्त्री कुँवर


श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुर्‍याएको  बताएका छन् । 

कैलालीको धनगढीमा मंगलबार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विशेष गरी विपन्न वर्गका नागरिकहरूको आर्थिक अवस्था सुधारमा टेवा पर्‍याएको बताए । 

स्थानीय स्तरमा आवश्यकताको पहिचान गरी त्यही अनुसार कार्यक्रम कार्यान्वयन गर्दा लक्षित वर्ग त्यसबाट प्रत्यक्ष लाभान्वित हुने मन्त्री कुँवरको भनाई छ । देश विकासमा युवा जनशक्तिको अनिवार्य सहभागितामा जोड दिदैं उहाँले दक्ष युवा जनशक्ति उत्पादन र उनीहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ सबै तहका सरकारहरूको गम्भीर ध्यान जानुपर्ने  बताए ।  

 कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक डण्डुराज घिमिरेले कैलाली र कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनपछि भएका उपलब्धि र प्रभावकारी कार्यान्वयनका लागि भइरहेका समस्याका बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा कैलालीका १३ र कञ्चनपुरका ९ पालिकाका प्रतिनिधि २ जिल्ला समन्वय समितिका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत रोजगार संयोजकहरूको सहभागिता रहेको थियो ।

 

Logo