चलचित्र ‘जात्रै जात्रा’ ले मनायो ५१ दिने सेलिब्रेशन

काठमाडौं । जेष्ठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ ले शुक्रबार ५१ दिने सेलिब्रेशन गरेको छ । आठौँ हप्तामा चलिरहेको चलचित्र जात्रै जात्राले ५१ औं दिनको सेलिब्रेशन गरेको हो । अहिले पनि चलचित्रले सकारात्मक व्यापार गरिरहेको छ । ‘जात्रै जात्रा’ हाल सिंगल थिएटरतर्फ राजधानीको गोपीकृष्ण, गुण र अष्टनारायणमा चलिरहेको छ । मोफसलका केही सिंगल थिएटरमा पनि चलचित्र प्रदर्शन भइरहेको निर्देशक प्रदिप भट्टराईले जानकारी दिए ।

चलचित्रले प्रदर्शनको सातौँ हप्तासम्म घरेलु बजारबाट करिब १० करोडको आसपासको व्यापार गरिसकेको छ । ‘जात्रै जात्रा’ बाट निर्देशक प्रदीपले व्यावसायिक रुपमा सफल चलचित्रका रुपमा ह्याट्रिक गरेका छन् । यसअघि उनी निर्देशित दुई चलचित्र ‘जात्रा’ र ‘शत्रु गते’ ले दर्शकको राम्रो साथ पाएको थियो ।

चलचित्र ‘जात्रै जात्रा’ मा सुन पचाउन गर्नुपरेको संर्घषलाई देखाइएको छ । षट्कोण आर्टको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् । ‘जात्रै जात्रा’का सार्वजनिक दुई गीत ‘माया पिरिममा’ र ‘जीवन जात्रा हो’ अहिले चर्चामा छन् ।

चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको अभिनय रहेको छ । ‘जात्रै जात्रा’मा शिवराम श्रेष्ठको छायांकन, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्धन्द्व, मित्र डि गुरुङको सम्पादन रहेको छ ।