पुर्चौडीमा फोन र इन्टरनेटमा सधैं झमेला, सरकारी कार्यालयकाे सेवा चौपट

पुर्चौडीमा फोन र इन्टरनेटमा सधैं झमेला, सरकारी कार्यालयकाे सेवा चौपट


बैतडीमा अधिकांश दुर्गम ठाउँहरूमा अहिले सहजै टेलिफोन र मोबाइलबाटै इन्टरनेट चल्छन् । तर,  पुर्चौडी नगरपालिकाको केन्द्र हाटमा भने अझै पनि टेलिफोन र इन्टरनेट सेवा लिन उपभाेक्ताले सास्ती भाेग्नु परेकाे छ ।  

जिल्लाका अन्य शहरी क्षेत्रकाे तुलनामा पुर्चौडी व्यवस्थित बजार भए पनि  फोन र इन्टरनेट सेवाको असहजताका कारण दुर्गम जस्तो बनेकाे छ । 

फोन र इन्टरनेट सेवा सहज रुपले नचल्दा सरकारी कार्यालयका कामकाज पनि सकसपूर्ण हुने गरेकाे पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । उनले भने, ‘शिखर कम्पनीको इन्टरनेट जडान गरिएको छ । बेला बेलामा बिग्रिरहन्छ । बिग्रेको कयौं दिनसम्म पनि मर्मत हुँदैन् । गुनासो गर्न कम्पनीको सम्पर्क व्यक्तिलाई फोन गर्दा कहिलेकाँही मात्रै रेस्पोन्स हुन्छ ।’

मोबाइलबाट हटस्पट खोलेर काम चलाउने गरेको उनले बताए । कुँवरले भने, ‘झ्यालमा, रुखमा वा घरको छतमा मोबाइल राखेर हटस्पटका माध्यमबाट काम चलाउने गर्दछौँ । त्यसरी पनि कहिलेकाही काम हुँदैन ।’

इन्टरनेट समस्याका कारण नगरपालिकालाई आर्थिक कारोबार, पञ्जीकरणमा समस्या भइरहेकाे प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले बताए । उनले भने, ‘यसपालि भुक्तानीका अधिकांश काम पहिल्यै सकेकाले सजिलो भयो । जसोतसो काम त सम्पन्न गर्याैं तर केहि सेवाग्राहीले इन्टरनेटको समस्यामा कारण झन्झट खेप्नुपर्यो ।’

पुर्चौडी हाटबजार दुई सयभन्दा बढी पसल तथा होटल भएको व्यवस्थित बजार हो । यहाँ अन्य ठाउँको तुलनामा कारोबार समेत बढी हुन्छ । यहाँ नगरपालिका कार्यालयका साथै बहुमुखी क्याम्पस, स्कूलहरू, बैंक तथा वित्तीय संस्था, इलाका प्रहरी कार्यालय र दर्जनौं सरकारी र गैरसरकारी कार्यालयको कामकाज इन्टरनेटका कारण प्रभावित हुने गरेको छ । गतवर्ष इन्टरनेटको समस्याका कारण पुर्चौडीमा दुई हजारभन्दा बढी सेवाग्राहीले बैंकमा योजनाका खाता समेत खोल्न पाएका थिएनन् । 

हाट बजारका लागि  सोलार पावरबाट टेलिकमको टावर सञ्चालन गरिएकाले समस्या हुने गरेको नेपाल टेलिकम शाखा कार्यालय बैतडीका कार्यालय प्रमुख बिक्रमराम टमटाले बताए । उनले भने, ‘विद्युत नभएका सोलार जडित ठाउँमा सञ्चालित टावरमा मौसमको खराबीका बेला यस्ता समस्याहरु आउने गरेका छन् ।’

पुर्चौडीको कुँवाकोटमा सञ्चालित टावरमा विद्युत मागका लागि प्रादेशिक कार्यालयमार्फत स्टिमेट पठाएर सरकारसमक्ष विद्युतको माग गरेको उनले बताए । 
 

 

Logo