प्रतिनिधिसभा उपसभामुख पदका लागि आज निर्वाचन हुँदै

प्रतिनिधिसभा उपसभामुख पदका लागि आज निर्वाचन हुँदै


प्रतिनिधिसभाको उपसभामुखका लागि शुक्रबार निर्वाचन हुँदैछ । 

शुक्रबार दिउँसो ३ बजे प्रतिनिधिसभामा उपसभामुखको चुनाव गर्ने कार्यतालिका छ । उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ । सत्तारूढ गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाललाई उठाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी छन् । यस्तै, भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन् । 

भुसाल यसअघि उपसभामुखमा पराजित भएकी थिइन् । तत्कालीन सत्ता गठबन्धनबाट उम्मेवार बनेकी डा शिवमाया तुम्बाहाङ्फे निर्वाचित भएकी थिइन् । उपसभामुख पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो  । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो  ।

तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । 

Skip This
Logo