कांग्रेस बैठकमा एजेन्डा मात्र पेस, अर्को बैठक २७ गते बस्ने

काठमाडौँ,

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एजेण्डा मात्र पेश गरी सम्पन्न भएको छ । बैठकमा नियमावली मस्यौदा, संघीय संरचना अनुसारको संरचना निर्माण, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पुर्णता दिने, पहिलो चरणको जागरण अभियानको समीक्षा गर्ने, राष्ट्रिय राजनीतिको विकसित घटनाक्रम लगायत १४ वटा एजेण्डा माथि छलफल गरिने भएको छ ।

आइतवार साँझ ढिलो गरी शुरु भएको बैठक अब २७ गते बस्ने भएको छ । हिजो अपरान्ह दुई बजे बोलाइएको बैठक पदाधिकारी बीच सहमति नहुँदा साँझ सात बजे मात्र शुरु भएको थियो । बैठकमा पार्टीको १४ औं महाधिवेशनको मिति तय गर्ने बारे पदाधिकारी बीच विवाद रहेको छ ।

यो केन्द्रिय कार्यसमितिको चारवर्षे अवधि आउँदो फागुनमा सकिदैछ । विशेष परिस्थिति भन्दै एकवर्ष म्याद थप्न पाउने कांग्रेस विधानमै उल्लेख छ भने संविधान अनुसार कम्तिमा साढे पाँचवर्ष भित्र अधिवेशन गरिसक्नु पर्ने उल्लेख छ ।

सामान्यतया अब नौ महिनापछि महाधिवेशन गर्नु पर्ने भएकोले संस्थापन इतर पक्षका शीर्ष नेताहरु अब महाधिवेशनको कार्यतालिका बनाउनु पर्ने पक्षमा छन् भने संस्थापन पक्ष भने अहिले नै हतार नभएको भन्दै विधानले दिएको सुविधा उपभोग गरी एकवर्ष कार्यकाल लम्ब्याउने पक्षमा छन् । शीर्ष नेताहरुको लामो रस्साकस्सी पछि केन्द्रीय बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने एजेण्डा पेश भएको छ ।
नेपाल समाचारपत्रबाट