जसपाको संघीय परिषद् अध्यक्ष बने अशोक राई, बाबुरामसहित ९ जना पदमुक्त

जसपाको संघीय परिषद् अध्यक्ष बने अशोक राई, बाबुरामसहित ९ जना पदमुक्त


जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित ९ कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ ।

पर्साको वीरगञ्जमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । भट्टराईका साथै गंगानारायण श्रेष्ठ, हिसिला यमी, प्रशान्त सिंह, महेन्द्र राय यादव,  दानबहादुर चौधरी, भक्तबहादुर शाह, रमेश यादव र दुर्गा सोब पदमुक्त भएका हुन् ।

वीरगञ्जको बैठक बहिस्कार गरेको भट्टराई पक्षले काठमाडौंमा मंगलबार र बुधबार भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरेको थियो । यसैबीच पार्टीकी कार्यकारिणी सदस्य रेणुकुमारी यादव पार्टीबाट अलग भएकी छिन् । व्यक्तिगत कारण उनले बिहीबार साँझ जसपासँगको सम्पूर्ण पदीय जिम्मेवारी त्याग गरेको घोषणा गरेकी हुन् ।  
 

Logo