पुष्पकमल दाहालले भारत जानु अगाडि के के भने ?

पुष्पकमल दाहालले भारत जानु अगाडि के के भने ?


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सद्भावना भ्रमणको रुपमा रहेको बताए । शुक्रवार भारतको ३ दिने भ्रमणका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो भारतको राजनीतिक भ्रमण सद्भावना भ्रमणको  रहेको बताए । उनले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जान लागेको बताए । 

उनले भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हीतलाई केन्द्रबिन्दुमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो बनाउने सम्बन्धमा भारतीय सरकार र नेताहरुसँग आफ्नो कुरा हुने उल्लेख गरे । अध्यक्ष दाहालले यो भ्रमणका लागि भारतसँग पहिले नै कुरा भएको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमणपछि आफ्नो भारत भ्रमण हुनुमा कुनै सम्बन्ध नभएको स्पष्ट पारे । 

उनले भने, ‘छिमेकी मित्रराष्ट्र भारतको राजनीतिक भ्रमणको लागि जाँदैछु । यो भ्रमण मुख्यतः एउटा सद्भावना भ्रमणको रुपमा रहेको छ । नेपाल राष्ट्र र नेपाली जनताको हीतलाई केन्द्रबिन्दुमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो कसरी बनाउने भन्ने विषयमा मेरो मुख्य रुपमा भारत सरकारका प्रतिनिधि र भारतीय जनता पार्टीका नेताहरुसँग कुरा हुन्छ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख आउने र जाने कुरासँग यो जुलाई दोस्रो वा तेस्रो हप्तामा भारतमा औपचारिक भ्रमण गर्ने कुराको कुनै सम्बन्ध छैन म यो कुरा प्रष्ट पार्न चाहन्छु । अनावश्यक कन्फ्युजन कसैलाई नरहोस् भन्ने मेरो नेपाली जनतासँग कुरो छ । मैले शुरुमै भने यो सद्भावना भ्रमणको रुपमा छ ।’

अध्यक्ष दाहालले नेपाल–भारत सीमा समस्याको सम्बन्धमा कुटनीतिक सम्वादद्वारा विश्वासको वातावरण बनाएर टुंग्याउने विषयमा छलफल हुने बताए । 

बताउनु भयो । नेपालको विकासका लागि द्विपक्षीय स्थितिलाई सुदृढ गर्ने, व्यापार सन्तुलनलाई कम गर्ने लगायतको विषयमा पनि छलफल हुने उनको भनाई छ । उनले द्विपक्षीय हीत हुनेगरी व्यापार र अन्य विकास निर्माणका कामहरु अगाडी बढाउने कुरा पनि हुने बताए । आफ्नो भ्रमण राजनीतिक नेतृत्व, पार्टीहरु, जनता र दुई देशको सम्बन्ध सुदृढ गर्ने विषयमा केन्द्रित हुने उल्लेख  गरे । 

उनले भने, ‘नेपाल राष्ट्र र नेपाली जनताको हीतलाई केन्द्रमा राखेर नेपाल भारत सम्बन्धमा विविध पक्षहरुमा चर्चा स्वभाविक रुपले हुने नै छ । मैले विगतमाझै यसपाली पनि नेपालको समग्र विकासको निम्ति द्विपक्षीय स्थितिलाई सुदृढ गर्ने हिसावले, व्यापारको सन्तुलनलाई कम गर्ने विषयमा, इतिहासबाट कतिपय थाँति रहेका विषयलाई कुटनीतिक र सम्वादको माध्यमबाट टुंग्याउने कुरा, सीमानाका विषयलाई पनि त्यसरी नै कुटनीतिक सम्वादद्वारा विश्वासको वातावरण बनाएर टुंग्याउने कुरा लगायत सबै विषयमा पक्कै पनि चर्चा हुन्छ । दुवै देशको आर्थिक हीत हुनेगरी, द्विपक्षीय हीत हुनेगरी व्यापार र अन्य विकास निर्माणका कामहरु कसरी अगाडी बढाउने भन्ने कुरा पनि स्वभावैले हुन्छ । र समग्रमा यो भ्रमण सद्भावना भ्रमण भएको हुनाले भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी र हाम्रो पार्टी पनि एउटा गठबन्धन भित्रको महत्वपूर्ण पार्टी भएको हुनाले दुई पार्टीका बीचमा एउटा सकारात्मक र सद्भावपूर्ण वातावरण निर्माण गर्ने र त्यसलाई सहयोग गर्ने कुरामा पक्कै पनि यो केन्द्रित हुन्छ । त्यसकारण यो भ्रमण अन्ततः दुवै देशका राजनीतिक नेतृत्व, पार्टीहरु, जनता र दुई देशको सम्बन्ध सुदृढ गर्ने विषयमा नै केन्द्रित हुन्छ ।’

उनले भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालयसँग परामर्श लिएको पनि बताए । भ्रमण महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले आफू उत्साहका साथ भ्रमणमा गएको बताए । 

 

Skip This
Logo