पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या २,०९५ , एकै दिन तीन जनाको मृत्यु

पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या २,०९५ , एकै दिन तीन जनाको मृत्यु


पर्सा।

विगत २४ घण्टाभित्र पर्सामा तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक तीनै जना वीरगञ्ज महानगरपालिका निवासी रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । मृत्यु हुनेमा वडा नं १२ मुर्ली निवासी ४८ वर्षीय पुरुष र ६५ वर्षीया महिला रहेका छन् भने वडा नं २२ मनियारी निवासी ३७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

मुर्ली निवासी पुरुषको शुक्रबार राति ११ः५५ मा नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थ केयरमा र महिलाको सोही दिन साँझ ६ बजे नारायणी अस्पतालको आकस्मिककक्षमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिए। उनले मनियारी निवासी युवालाई उपचारका लागि एम्बुलेन्सबाट काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको बताए ।

मृत्यु भएका तीनै जनाको भदौ १२ गते गरिएको पिसीआर परीक्षण पोजेटिभ आएको जिल्ला प्रशासन कर्यालयले जनाएको छ । मृतकमा उच्च ज्वरो, खोकी, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतकमध्ये मुर्ली निवासी ४८ वर्यीय पुरुष एचआइभी पोजेटिभ रहेको प्रशासनले जनाएको छ । यससँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

एक सुरक्षाकर्मीसहित ३१ नयाँ सङ्क्रमित भेटिए

एक सुरक्षाकर्मीसहित पर्सामा शनिबार ३१ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाबको नमूनालाई नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा पाँच महिला र २६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

शुक्रबार राति गरिएको पिसीआर परीक्षणको शनिबार दिउसो आएको रिर्पोटमा सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा निवासी १४, पर्साको पोखरिया नगरपालिकाको विभिन्न वडा निवासी १० जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिप्रकाले दिएको जानकारी अनुसार पटेर्वासुगौली गाउँपालिका निवासी दुई, कालिकामाई गाउँपालिका निवासी तीन र प्रसौनि निवासी एक जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै पर्सामा सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९५ पुगेको छ । पर्साबाट एक हजार ६३२ पुरुष र ४६३ महिला हालसम्म सङ्क्रमित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Logo