मापसेमा पर्नुभयो ? यसरी लिन सकिन्छ अनलाइनबाटै सचेतना कक्षा !

मापसेमा पर्नुभयो ? यसरी लिन सकिन्छ अनलाइनबाटै सचेतना कक्षा !


उपत्यका ट्राफिक कार्यालयले  कारवाहीमा परेका सवारी चालकलाई अबदेखि अनलाइनबाटै सचेतना कक्षा लिने भएको छ ।

मापसेमा परेका, लेन अनुशासन र रातो वत्ति उल्लघंन गर्ने चालकले १ घन्टाको अनिवार्य सचेतना क्लास लिनुपर्ने नियम रहँदै आएको छ । यसरी अनलाइनबाटै क्लास लिन चाहने चालकले सवैभन्दा पहिले माइक्रोसफ्ट टिम्स एपलाई आफ्नो मोबाइल अर्थात कम्प्युटरमा डाउनलोड गर्नुपर्ने छ ।

सिधै फेसवुकमा गई मेट्रोपोलिटिन ट्राफिक पोलिस डिभिजन सर्च गरी ज्वाइन कन्भरसेसनमा क्लिक गरेर पनि क्लासमा सहभागी हुन सकिन्छ । यसरी ज्वाइन गरेपछि इन्टर नेममा गएर चिट नम्वर र आफ्नो नाम लेखी ज्वाइन नाउमा क्लिक गरेको केही समयपछि भर्चुअल क्लासमा सहभागी हुन सकिन्छ ।

सचेतना क्लास सार्वजनिक बिदा भएको दिन वाहेक प्रत्येक दिन १ देखि २ बजेसम्म संचालन हुने कार्यालयले जनाएको छ । यसरी क्लास लिइसकेपछि तोकिएको दस्तुर तिरेर चालकले आफ्नो कागजपत्र फिर्ता लिन सक्नेछन् । यो क्लासमा चिट नभएका इच्छुक व्यक्तिहरुले समेत सहभागिता जनाउन सक्ने उक्त कार्यालयको भनाइ छ ।
चिट नभएका व्यक्तिले आफ्नो नाम र मोवाइल नम्वर लेखी ज्वाइन नाउमा क्लिक गरी क्लासमा सहभागी हुन सक्नेछन् । अनलाइनबाटै क्लास लिने व्यवस्था मिलाएपछि चालकलाई भौतिक रुपमै ट्राफिक कार्यालयमा गएर क्लास लिनुपर्ने झन्झटबाट उन्मुक्ति मिल्ने देखिन्छ ।

Logo