राखेप सदस्य सचिव सिलवालले लिए सपथ, गरे यस्तो प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नयाँ सदस्य सचिव पाएको छ । गोल्डेन गेट कलेजका सञ्चालक रमेश सिलवाल राखेपको सदस्य सचिव बनेका हुन् । उनले सोमबार सपथ लिएका छन् । केशव विष्टको कार्यकाल सकिएको १२ दिनपछि सिलवालको नाममा सहमति जुटेपछि सोमबार सिलवालले सपथ लिएका हुन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उनको नाममा सहमति जुटाएको हो। उनलाई युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले सपथ गराएका हुन् ।
यसअघि नेपाल क्रिकेट संघ क्यानमा रहेर काम गरिसकेका सिलवाल क्यान विवादका बेला २०७२ सालमा राखेपले नै बनाएको तदर्थ समितिका संयोजक थिए।

सिलवाल एमाले सम्बद्ध मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष पनि हुन्। यही जेठ ९ गेत विष्टको ४ वर्षे कार्यकाल सकिएपछि सदस्य सचिव पद रिक्त थियो ।

सपथ ग्रहणपछि सदस्य सचिव सिलवालले तोकिएकै समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने चुनौती स्वीकार गरेर आफू नेतृत्वमा आएको बताए । तयारी नपुगेपछि सागको मिति तीन पटक सरिसकेको छ ।

चौथो पटक तोकिएको मिति आउन अब चार महिना मात्र बाँकी छ । त्यस्तो अवस्थामा राखेप सदस्य सचिव नियुक्त भएका सिलवालले चार महिनाभित्र साग गर्ने चुनौती स्वीकार गरेर आफूले जिम्मेवारी लिएको बताए ।