ब्याटिङ नचल्दा नामिबियासँग नेपालकाे हार

ब्याटिङ नचल्दा नामिबियासँग नेपालकाे हार


आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । 

नामिबियाले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा मात्र एक सय ३७ रनमा सीमित भयो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोड्दा ओपनर आसिफ शेखले ३२ रन जोडे । त्यस्तै आदिल आलमले २० रन जोडे । अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् । 

जारी शृंखलामा नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो । यसअघि टस जितेर ब्याटिङका लागि आएका नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका कप्तान जेरार्ड इरास्मसले ५३ रनको अर्धसतकीय इनिङ खेले । उनले ७० बलमा चार चौका र एक छक्का प्रहार गरे ।यसबाहेक, डेविड वाइजेले ३४ डिभान ला ककले २७ र जेजे स्मिथले समान २७ रन बनाए । यस्तै, जन निकोल लोफ्टी इटोन र रुबेन ट्रम्पेलम्यानले १९-१९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । किफायती बलिङ गरेका सन्दीपले १० ओभरमा ३ भन्दा तलको इकोनोमीसहित २९ रन मात्र खर्चिए । सोमपाल कामीले र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा बसिर अहमेद एक विकेट हात पारे । लिग २ मा १९ खेल खेलेको नेपाल १७ अंकसहित तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालमाथिको जितपछि नामिबिया भने १८ खेलमा १८ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।

Logo