सेनाले ४३ वर्षदेखि विमान चार्टर गरेको भाडा उठाउन सकेन

सेनाले ४३ वर्षदेखि विमान चार्टर गरेको भाडा उठाउन सकेन


नेपाली सेनाले ४३ वर्षदेखि आफ्ना हेलिकप्टर र जहाज भाडामा लगाउँदा लागेको भाडा उठान सकेको छैन । प्रत्येक वर्ष यस्तो रकम थपिदै जाँदा सेनाले हेलिकप्टर तथा जहाज चार्टर गरे वापत उठाउन बाँकी रकम अहिले १ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । 

महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष  २०३४/३५ देखि  २०७७/७८ सम्म सेनाले उठाउन बाँकी चार्टर भाडा १ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको उल्लेख गरिएकाे छ । 

‘विवरणअनुसार ८ निकायबाट आर्थिक वर्ष २०७७/७८ को चार्टर भाडा ७१ लाख १९ हजार र २०३४/३५ देखि २०७६/७७ सम्मको १ करोड १८ लाख ३५ हजार रुपैयाँ समेत १ करोड ८९ लाख ५४ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ । बक्यौता रकम समितिको कार्यविधिअनुसार असुल गर्नुपर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ । 

नेपाली सेनामा रहेको सैनिक विमान चार्टर उडान समितिले सैनिक विमान भाडामा दिने काम गर्छ । समिति मातहतमा रहेका १७ जहाजमध्ये एउटा मर्मतको लागि भूमिस्थ रहेको र ६ वटा सेवा दिन नसक्ने अवस्थामा छन् । 

आर्थिक वर्ष २०७७/७८ मा सेनाको १० वटा जहाजले २४१ घण्टा उडान गरेको थियो । सेनाले हवाइ साधनबाट आर्थिक वर्ष २०७६/७७ मा १९ करोड ३३ लाख ६९ हजार आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा यो रकम १६ करोड ४४ लाख ६४ हजार रुपैयाँ रहेको थियो । 
 

 

Skip This
Logo