सँगैको साथी गोली लागेर ढले, जवाफी कारवाहीमा विप्लव कार्यकर्ता मारिए
File Photo

भोजपुर । भोजपुरमा बुधबार एकाबिहानै एक प्रहरी र एक जना विप्लव कार्यकर्ता मारिए । गस्तीमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली चलाउँदा एक प्रहरी मारिए । प्रहरीको जवाफी कारवाहीमा एक विप्लव कार्यकर्ता पनि ज्यान गुमाउन पुगेका छन् ।

बुधबार बिहान भोजपुर सदरमुकाममा सादा पोसाकमा गस्तीमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरी जवान सन्जीव राईको घटनास्थलमै ज्यान गयो । उनको कोखामा गोली लागेको थियो ।

संगैको साथीलाई गोली लागेपछि नजिकै रहेका अर्का जवानले जवाफी कारवाही गर्दा विप्लव कार्यकर्ता निरकुमार राई पनि त्यही ढले । हटियाको दिन भएकाले सादा पोशाकमा पाँच जनाको संख्यामा प्रहरी गस्तीमा निस्किएिको थियो ।

प्रहरीको गोली लागेर विप्लवका ओखलढुंगा इन्चार्ज नीरकुमार राईको मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । हरी जवानलाई पछाडिबाट झुक्याएर गोली हानिएको थियो। अर्का प्रहरीले तुरुन्तै प्रतिकारस्वरूप राईमाथि गोली चलाएको सिडिओ खतिवडाको भनाई छ ।

मृतक विप्लव माओवादी कार्यकर्ताबाट एक थान चाइनिज पेस्तोल र त्यसको छ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। गोली हानाहानपछि विप्लवका केही कार्यकर्ता भागेका छन्। तिनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनापछि भोजपुरको सुरक्षाव्यवस्था कडा पारिएको छ । बजार क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।