ज्योति विकास बैंकका कारण चार परिवार घरबारविहीन

ज्योति विकास बैंकका कारण चार परिवार घरबारविहीन


महोत्तरी । बर्दिबास-८ की ६२ वर्षीया बालकुमारी दर्लामी मंगलबार हारगुहार गर्दै आफूहरूलाई घरबारविहीन हुनबाट बचाइदिन ज्योति विकास बैंकका शाखा व्यवस्थापक सुरज देवकोटालाई अनुरोध गरेरहेकी थिइन्। पुस्तौदेखि बर्दिवास-८ गिरिटोलमा बस्दै आएकी दर्लामीले छोराले बैंकको कर्जा तिर्न नसकेको र ऋणबापत राखेको घरघडेरीको धितो लिलामी भएको पत्र मंगलबार नै प्राप्त गरिन् ।

बालकुमारीकै नाममा रहेको जग्गा मुख्य ऋणी जेठा छोरा मीनबहादुर दर्लामीले निर्धारित समयमा चुक्ता गर्न नसकेपछि एक बिगाहा ११ कठ्ठा १८ धुर जग्गा लिलाम भएको चिठीमार्फत बैंकले जानकारी गराएको थियो  । साे निर्णयले बालकुमारीसहित उनका तीन छोरा सडकमा आइपुगेका छन् । सोही जग्गाबाट पारिवारिक भरणपोषणको आधार वन्दै आएको वेला बैंकले कौडीको मूल्यमा अर्कैको नाममा पास गरेपछि बालकुमारीको ठूलो परिवारका सदस्य घरवारविहीन बनेका छन् ।

‘कमसेकम बैंकले समयमै जानकारी गराएको भए हामी पनि केही गर्थ्यौ होला,’ बालकुमारीका माइला छोरा हिरालाल दर्लामीले भने । उनले आफूहरूलाई जानकारी नै नगराइकन गुपचुप जग्गा लिलामी गर्नुमा गम्भीर षडयन्त्र भएको आरोप लगाए । `

बालकुमारीका जेठा छोरा मीनबहादुर दर्लामीले दुई वर्ष अगाडि सिन्धुलीमा होटल खोल्ने उद्देश्यले ज्योति विकास बैंकसँग ओडी र टर्म कर्जा गरेर ३५ लाख निकालेका थिए । २० लाख ओडी र १५ लाख टर्म कर्जा गरी मीनबहादुरले उक्त जग्गाको धितोबापत ३५ लाख पाएका थिए ।

‘समय-समयमा मैले ऋण तिर्दै आएकाे थिएँ । कोरोना माहामारी तथा विविध कारणले भनेजति किस्ता वुझाउन सकिएन तर जग्गा बेचेर भए पनि म उक्त कर्जा चुक्ता गर्नेतर्फ नै गृहकार्य गर्दै थिएँ,’ उनले भने ।

चलनचल्तीको मूल्यमा बेच्दा पनि उक्त जमिनको मूल्य दुई करोडभन्दा बढी हुन आउँछ तर बैंकले ३५ लाखमा हेटौडातिरका जग्गा व्यवसायी माधव आचार्यलाई सकारेको देखिएको छ । बैंकको प्रक्रियाअनुसार धितो लिलाम हुनुभन्दा अगाडि अंशियार तथा हकवालाहरूलाई जानकारी गराउनुपर्दछ । तर मीनबहादुरलाई पठाएको चिठीमा मिनमाया दर्लामी, हिरालाल दर्लामी, चोकबहादुर दर्लामी र बालकुमारी दर्लामीलाई बोधार्थ राखे पनि बैंकले कुनै माध्यमबाट जानकारी गराएको देखिएको छैन ।

सम्पत्ति लिलाम जस्तो विषयमा हकवालाहरूलाई थाहा नै नदिइकन बैंकले आफूखुसी धितोबापतको जग्गा किन लिलाम गर्‍यो भन्ने विषय रहस्यमय छ । कराेडौ मूल्य पर्ने उक्त जग्गा कौडीको मूल्यमा लिलाम गरेकोप्रति असन्तुष्टि जनाउँदै पीडित पक्षले बैंकको नियतमाथि नै प्रश्न उठाएकाे छ ।

जग्गा लिलाम भएपछि अहिले मीनबहादुरको भाइ-भाइमा पारिवारिक द्वन्द्व सुरु भएको छ । सम्पत्तिको नाममा रहेको सबै जग्गा बैंकले लिलाम गरेपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता थपिएको छ ।

मीनबहादुरको अहिले सिन्धुली कमलामाई-७ मा गढीदरबार थकाली भान्छा घर छ । सोही होटल चलाउन मीनबहादुरले बैंकसँग उक्त रकम लिएका थिए । बैंकले धितो लिलामका सम्बन्धमा १८ जेठ २०७९ मा सात दिने सूचना निकालेको र उक्त अवधिभित्र कर्जा भुक्तान गर्ने जानकारीसहितको चिठी गढीदरबार थकाली भान्छाघरलाई सम्बाेधन गर्दै पठाएको थियो ।

‘जानकारी प्राप्त हुनासाथ म बैंकमा आएर जग्गा बेच्ने गृहकार्य गरिरहेको छु, मान्छे पनि तयार छ्न्, मलाई केही समय दिनुस् भन्दा उहाँहरूले हुन्छ भनेर लिलाम पो गरिदिनु भएछ,’ मीनबहादुरले भने । चिठीको मितिअनुसार लिलामको प्रक्रियामा गएको जानकारी १८ जेठ २०७९ उल्लेख गरिएको छ, तर हकवालाहरूले ६ असार २०७९ मा उक्त चिठी प्राप्त गरेका छन् ।

बर्दिवासस्थित ज्योति विकास बैंकका व्यवस्थापक सुरज देवकोटाले भने लिलामी प्रक्रियाअनुसार नै भएको दाबी गरेका छ्न् ।

Logo