महिला र पुरुषप्रति सन्तुलित सोचको खाँचो
  • रामजी बलामी-

एक जना व्यक्ति प्रहरीको नियन्त्रणमा हुन्छ । उसले आफूले केही नराम्रो नगरेको बताईरहेको हुन्छ । आक्रोशित भिड भने उनीमाथि पटक पटक जाइलाग्छ । उनलाई प्रहरीले नियन्त्रणमा लिईसकेपछि पनि आक्रोशित भिडले ‘इँटाले हान, हान, हान’ भन्दै आक्रमण गर्छ । यो सोमबार (२३ असार) काभ्रेको बनेपामा देखिएको दृश्य हो । प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति हुन् स्याङजाका शिक्षक खगेश्वर पाठक । जो अहिले ससम्मान हिरासतमुक्त भईसकेका छन् ।

यतिबेला समाजिक सञ्जालमा यो विषय ‘हटकेक’ बनिरहेको छ । शिक्षक जस्तो मान्छेले यस्तो अपराध गर्नै नसक्ने भन्दै एकथरि फेसबुकमा कुर्लिरहेका छन् । एकथरि फेरि आम सञ्चारमाध्यमतर्फ औंला ठडयाईरहेका छन् । कोही भने आरोप लगाएकी भनिएकी महिलाको फोटो भाइरल बनाउन हात धोएर लागिपरेका छन् ।

तर, वास्तविकता अर्कै छ । यहाँ न ति महिलाले पाठकमाथि आरोप लगाएकी थिइन् न त पाठकले नै उनलाई सिरिन्ज प्रहार गरेका थिए । उनी त झन आफू बसेको सिट महिलालाई छोडेर उभिएर यात्रा गर्ने यात्रु थिए । भिडमा कसैले उनीमाथि एक शब्द आरोप लगाईदिएको भरमा उनीमाथि आक्रमण भयो । समयमा प्रहरी नपुगेको भए त्यहाँ जे पनि हुन सक्थ्यो ।

यही विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा एउटा महत्वपूर्ण वहस सृजना भएको छ । जुन सभ्य र समानतामूलक समाज निर्माणका लागि आम मानवजातिले मनन गर्नुपर्ने देखिन्छ । जसरी हक अधिकार र दायित्व समान हुन्छ त्यसरी नै महिला र पुरुषप्रतिको सोच पनि समान हुन जरुरी छ ।

अपराध हरेक तह र तप्काका मान्छेले गर्न सक्छन् । चाहे ऊ/उनी फरक क्षमताका व्यक्ति होस् अथवा वरिष्ठ अधिकारी नै किन नहोस् । शारिरिक अवस्था र पद प्रतिष्ठाको आधारमा कोही कसैले अपराध गर्नै सक्दैन भन्नु आफैमा लज्जास्पद कुरा हो । त्यसकारण यस विषयमा शब्द खर्चिनु जरुरी नै छैन ।

अब कुरा रह्यो, के कसैमाथि कसैले हचुवामा कुनै प्रकारको आरोप लगाउन पाईन्छ ? यसरी लगाएको आरोप पुष्टी नभएको खण्डमा ऊ/उनी उपर कारवाही गर्न जरुरी छैन ? के कसैले आरोप लगाएकै भरमा समाज पनि भेडा बनेर उनैमाथि कुर्लने ? अनि भेडा समाज कुर्लेकै भरमा कसैको चरित्रमाथि दाग लाग्ने गरी टिका टिप्पणी गर्ने ? अपराधी भनिएका व्यक्तिको ज्यान गएमा अथवा अपराध प्रमाणित हुन नसकेमा उनीमाथि लागेको दागको क्षतिपूर्ती कसरी सम्भव होला ?

यहाँ चर्चा गर्न खोजिएको कुरा के हो भने हाम्रो समाजले महिला र पुरुषमाथि हेर्ने फरक दृष्टिकोण र सोचाईको हो । हक, अधिकार र न्याय भनेको महिला र पुरुष दुबैका लागि समान हुनुपर्छ । एउटाको खोसेर अर्काेलाई दिएको हक अधिकारले समृद्ध र सन्तुलित समाज निर्माण हुन सक्दैन । यद्यपि एउटाको अधिकार खोसेर अर्काेलाई प्रदान गर्नु पनि कानून विपरित हो । त्यसो त नेपालको कानूनले पनि महिला र पुरुषलाई समान अधिकार दिएकै छ । कानूनी नजरमा समान भएपनि अझै पनि कयौ महिलाहरुले यसको उपभोग भने गर्न पाएका छैनन् । कानूनको ठेली घोक्नेहरुकै घरमा समेत महिलामाथि अनेकन किसिमले हिंसाहरु भईरहेका छन् । महिला हिंसाका अनेकन रुपहरु सार्वजनिक भईरहेकै छन् । जुन न्युनिकरणका लागि सबैले आ-आफ्नो तवरबाट कदम चाल्न जरुरी छ ।

तर, यहाँ प्रसंग पुरुषप्रति सामाजिक सोचको हो । एकथरि महिलाहरुले कानूनको उपभोग गर्न पाएका छैनन् भने अर्काेथरि महिलाहरु सामाजिक व्यवहार र असन्तुलित सोचको दुरुपयोग गर्दै पुरुषमाथि दमन गरिरहेका छन् । यहाँ हामीले बुझ्नुपर्ने कुरा कानून सँगसँगै सामाजिक व्यवहार र सन्तुलित सोचको हो ।

बाटोमा कुनै पुरुषलाई महिलाले कुटिरहेको देख्यौं भने हामी पुरुषलाई नै दोषि देख्छौ । उस्तै परे हामी भएभरको बल लगाएर पुरुषलाई भकुर्छाै । चाहे त्यहाँ महिलाले जस्तोसुकै गल्ती गरोस् । हामीलाई बालै फरर । हामीमा पुरुष कुटिनुको कारण जान्ने सोच समेत आउँदैन । त्यस्तै बाटोमा कोही पुरुषले महिलालाई कुटिरहेको देख्यौ भने पनि हामी सिधै गएर पुरुषलाई नै भकुर्छाै । त्यहाँ झगडाको वास्तविकता के हो भनेर बुझ्ने फुर्सद कसैलाई हुँदैन ।

महिला पुरुषको झगडामा दुबैको गल्ती कमजोरी हुन सक्छन् तर हाम्रो दोषि आँखाले पुरुषलाई मात्रै दोषि देख्छन् । र, त हामी दोषि आँखा चिम्लेर पुरुषलाई भकुर्न तम्तयार हुुन्छौ । यसको मतलव गल्ती गर्नेलाई कुट्न दिनुपर्छ भन्ने खोजिएको होईन, तेश्रो पक्षको काम भनेकोे वास्तविकता बुझ्ने  र पीडितको उद्धार गर्ने हो । आवेशमा आएर आक्रमणमा उत्रिने हुँदै होईन । तेश्रो पक्षले भावनामा बगेर कुनै एक पक्षमाथि जाईलाग्नु एकखालको अपराधिक मनोवृत्ति सिवाय केही होईन । जसको नतिजा बनेपा काण्ड भन्दा पनि घातक हुन् सक्छ।

गल्ती, अन्याय र अपराध जो कसैबाट हुन सक्छन् त्यसलाई धर्म, लिंग, जाति, पेशा र क्षेत्रका आधारमा सोच्नु मूर्खता सिवाय केही होईन । महिलाले गल्ती नै गर्दैन अथवा पुरुषले जहिल्यै गल्ती गर्छ भन्ने जस्तो सोचले सन्तुलित समाज निर्माण हुन सक्दैन । यसको तात्पर्य बिनागल्ती महिला होस् वा पुरुष कोही कसैले पनि कसैमाथि आक्षेप लगाउनु हुँदैन ।

मन मिलेसम्म सल्लाह गर्ने, मन नमिलेपछि हल्ला गर्ने प्रवृतिले समाजलाई कहाँ पुर्‍याउँला ? अन्यायको खाल्डोमा महिला होस् या पुरुष कोही पनि पर्नु भएन । यस्तै मनोवृति बढ्दै जाने हो भने यसले समाजमा एकखाले द्वन्द्व पैदा गर्छ । यसले महिला र पुरुषबीचको विभेदको दुरी झनै बढाउदै लैजान्छ ।

नेपालमा मात्रै होईन विश्व समुदायमै महिलामाथि आम समुदायले हेर्ने नजर फरक छ । यसै विषयलाई केन्द्रित गरेर बनाइएको यो प्रयांक भिडियो हेर्नुहोस् ।

जसमा महिलाले पुरुषमाथि जवरजस्ती गर्दा कसैले वास्ता गर्दैनन, बरु उल्टै हाँस्दै आफ़्फ़्नो बाटो लाग्छन् । तर, महिलामाथि पुरुषले जवरजस्ती गर्दा सबैले प्रतिकार गर्छ । यहाँ महिलामाथि जवरजस्ती हुँदा प्रतिकार गर्न हुँदैन भन्न खोजिएको नभई पुरुषमाथि जवरजस्ती हुँदा पनि प्रतिकार गर्नुपर्छ भन्न खोजिएको हो । समाजले व्यक्तिको लिंग हेरेर होईन न्याय अन्याय हेरेर प्रतिकार गर्ने हो । कुनै महिलाले पुरुषलाई बिच सडकमा नांगेझार पारे भने पनि के हामी रमिता हेरेर बस्ने ?

कसैको कोठामा महिला रोएको सुन्नासाथ हामी उनको श्रीमानतर्फ औंला ठड्याउँछौ । बिसञ्चो अथवा मान्छेको रुन्चे स्वभावलाई हामी ख्यालै गर्दैनौ । हामी सिधै सोच्छौ, ‘फलानाले त बुढी कुटे ।’ तर, यसको विपरित पुरुष रोएको सुन्यौ भने हामी पुरुषलाई नै कमजोरी ठान्छौ । अझ हाम्रो समाजमा पुरुष रुनै हुँदैन भन्ने मान्यता नै स्थापित छ ।

कुनै विवाहित महिलाको दाँत झरेको देख्यौ भने पनि हामी उनकै श्रीमानलाई दोषि देख्छौ । कुनै महिलाको मुखमा नानीबाबुले कोपरेको घाउ देख्यौ भने पनि हामी पुरुषलाई नै दोषि देख्छौ । तर, पुरुषको शरिरमा कोपरिएको देख्यौ भने हाम्रो दिमागमा महिलाको कमजोरी देख्दैनौ । यतिसम्मकी कुनै महिला बलात्कारमा परिन् भने पनि हामी उनको श्रीमानको पुरुषत्वमाथि प्रहार गर्छाै ।

आम समाजमा पुरुषप्रति जुन किसिमको सोच छ त्यसले प्रत्यक्ष अप्रत्यक्षरुपमा सिंगो समाजलाई नै पीडित बनाईराखेको छ । एक जना पुरुष कसैको श्रीमान् हुन्, कसैको बुबा हुन, कसैको छोरा हुन् भने कसैको दाजुभाई हुन् । तपाईले आवेशमा लगाएको त्यो आरोपले उसको सपरिवारलाई चोट पु¥याउछ । जसरी तपाईले कुनै पुरुषमाथि झुठा आरोप लगाउनु हुन्छ त्यसरी नै यदि कुनै महिलाले तपाईको बुबा, तपाईको श्रीमान, तपाईको दाजुभाई अथवा तपाईको छोरामाथि यस्तै प्रकारले आरोप लगाईन् भने तपाईलाई कति पीडावोध होला ?

यही प्रवृति झांगिदै गयो भने भोलि स्कुटरको टायरमा सल अड्केको जानकारी दिन पनि पुरुषहरु डराउनु पर्नेछ । प्राकृतिकरुपमा झिम्किने आफ्नै आँखादेखि पनि पुरुषहरु डराउनुपर्ने अवस्था आउन सक्छ ।

त्यसकारण हामीले कुनै पनि व्यक्तिलाई लिंग, धर्म, पेशा, जातिको आधारमा होईन मानवताको आधारमा व्यवहार गर्नुपर्छ । जब हामी मानवताको नजरले सोच्छौ र व्यवहार गर्छाै तव त्यहाँ न महिलामाथि हिंसा हुन्छ न त पुरुषमाथि नै ।

जबसम्म हामीमा विभेदकारी सोच कायम रहन्छ तवसम्म सन्तुलित समाज सम्भव छैन । समानतामूलक समाज निर्माणका लागि सर्वप्रथम हामीमा सन्तुलित सोचको खाँचो छ ।