हिलोमा रातो कार्पेट, प्रधानमन्त्रीको सवारी

काठमाडौं । बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सव मनायो । वार्षिक उत्सवको प्रमुख अतिथि थिए, विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली । त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै सह-कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्रीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन समेत गरे । हिजोदेखि परेको पानीले उद्घाटन गर्न जाने ठाउँसम्म हिलाम्मे थियो । त्यही हिलो माथि रातो कार्पेट ओच्छ्याइएको थियो । प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगेका थिए ।

विद्यार्थीहरुको ५७ औं ग्रेस लिस्ट पारितः
त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसरमा आयोजित वार्षिक दिवस बैठकले त्रिविको ५७ औं ग्रेस लिस्ट पारित गरेको छ । त्रिविका कुलपति एवं प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले उक्त ग्रेस लिस्ट पारित गरेको हो ।

यस वर्ष त्रिविका पाँच वटा अध्ययन संस्थानहरुबाट ११ हजार ९ सय १२ जना र चार वटा संकायहरुबाट ५८ हजार १ सय ६५ जना गरी कुल ७० हजार ७७ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । जसमा व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८ जना, शिक्षाशास्त्र संकायबाट २० हजार ६ जना, मानविकी तथा सामाजिक शास्त्र संकायबाट १३ हजार ६ सय ९५ जना र कानुन संकायबाट १ हजार ६ सय ६६ जना उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ४ सय ५२ जना, इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट २ हजार ९ सय ७२ जना, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ७ सय १९ जना, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानबाट ५ सय ५ जना र वन विज्ञान अध्ययन संस्थानबाट २ सय ६४ जना उत्तीर्ण भएका हुन् ।

यो संख्या गत वर्ष २०७५ आषाढ १ गतेदेखि २०७६ जेठ मसान्तसम्म विभिन्न तहमा उत्तीर्ण भई ट्रान्सक्रिप्ट पाएका विद्यार्थीहरुको हो । गत वर्ष ५६ औं ग्रेसलिस्टमा ७३ हजार ९ सय १ जना विद्यार्थीहरु उत्तीर्ण भएका थिए ।

वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै त्रिविका कुलपति एवं प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरुले देशको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए । विश्वविद्यालयबाट प्राविधिक शिक्षातर्फ जनशक्ति वृद्धि गर्नुपर्ने धारणा व्यक्त गरे ।

सरकारले देशलाई कुन कुन क्षेत्रमा कति संख्यामा के कस्तो प्राविधिक जनशक्ति चाहिन्छ भनेर तथ्याँक संकलनको लागि काम गरिरहेको बताउँदै आवश्यक जनशक्ति विश्वविद्यालयहरुबाटै उत्पादन गरिनुपर्नेमा जोड दिए ।