तरकारीमा विषादी परीक्षण गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । असार २ गते भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरिएको थियो ।

भारतको दबाब तथा विरोधपछि १८ असारमा सरकारले उक्त निर्णय फिर्ता लिएको थियो । उक्त फिर्ता लिएको निर्णय कार्यान्वयन नगर्न आदेश दिन माग गर्दै स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले असार २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट