काठमाडौंमा सूचना प्रविधि अन्तर्राष्ट्रिय कार्यशाला सुरु 

काठमाडौंमा सूचना प्रविधि अन्तर्राष्ट्रिय कार्यशाला सुरु 


साउथ एसीयन नेटवर्क अपरेटर ग्रुप (सनोग) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप एन्पिनोगको आयोजनामा सनोग– ३८ एनपीनोग– ६ कार्यशाला काठमाडौंमा सुरु भएको छ ।

सोमबारबाट सुरु भएको कार्यशाला आगामी श्रावण ६ गतेसम्म जारी रहने आयोजकले जनाएको छ । उक्त कार्यशालामा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुका बीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान हुनेछ ।

कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीहरुको बारेमा समेत जानकारी हासिल गर्नेछन् ।

काठमाडौंको मेरियट होटलमा सञ्चालन भैरहेको कार्यशालामा हाल वर्कशप चलिरहेको छ । ५ दिने कार्यशाला अन्र्तगत आगामी साउन ६ गते अन्तिम दिन कन्फरेन्स गरिने छ । कार्यशलाका बिषयहरु रुटिङ इन्फ्रास्ट्रक्चर र अपरेशनल सेक्युरिटी ः नेटवर्क म्यानेजमेन्ट मोनिटोरिङ एण्ड सेक्युरिटी, आइपीभिसिक्स डेपलोइमेन्ट, नेटवर्क सेक्युरिटी रहेका छन ।

कार्यशालामा बिभिन्न क्षेत्रका विशेषज्ञहरुका साथै केहि अन्तर्राष्ट्रिय विशेषज्ञहरुले सहभागीलाई ४ दिन सम्म ज्ञान एवं तालिम प्रदान गर्नेछन् । उक्त तालिम कार्यक्रम अध्ययनरत विधार्थी एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरतहरुका लागि विशेष लाभदायक हुनेछ ।

कार्यक्रमको अन्तिम दिन दिन आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र, दुरसंचार क्षेत्र, इन्टरनेट सेवा प्रदायक कम्पनी, बैंक एवं सरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिनेछन् ।
 

Logo