आँप बोकेको भारतीय ट्रकमा आगो लगाउने प्रयास, पानीले भिज्दा सलाई कोरिएन्
File Photo

चितवन । आँप बोकेर नेपाल आईरहेको भारतीय ट्रकमा तोडफोड गरिएको छ । चितवनको नारायणगढ क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा तोडफोड गरिएको हो ।

बिहीबार बिहान तीन बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय ट्रकमा तीन जनाको संख्यामा आएका युवाहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ । स्कुटरमा आएका ती युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् ।

उनीहरुले पेट्रोल छर्किएर आगो लगाउने प्रयाससमेत गरेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । उनीहरुले पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेपनि चिसोका कारण सलाई ओसिएपछि आगो नबल्दा ट्रक जोगिएको अध्यक्ष धितालको भनाई छ ।

पाँच टन आँप बोकेर आएको ट्रकलाई केही व्यापारीले प्रतिकार गर्दा ठूलो क्षति हुनबाट जोगिएको थियो । दोषीहरुको पहिचान नभएको र खोजी कार्य जारी रहेको चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।