तरकारीको विषादी परीक्षण प्रकरणमा प्रधानमन्त्रीले मागे माफी
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आम नेपालीसँग माफी मागेका छन् । भारतबाट आएको पत्र गोप्य राखेर आफूलाई झुक्याइएको भन्दै प्रधानमन्त्री ओलीले आम नेपालीसँग माफी मागेका हुन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताएका हुन् । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ । विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्‍यो । यसप्रति म क्षमाप्रार्थी छु ।’

प्रधानमन्त्री ओलीले केहिदिन अघिको एक कार्यक्रममा कुनै ठाउँबाट पत्र वा दबाब आएको आफुलाई जानकारी नरहेको बताउका थिए । पूर्वाधारको अभावमा तत्काललाई विषादी परीक्षण रोकिएको बताउँदै कसैले पठाएको पत्रबारे आफुलाई जानकारी नभएको बताएका थिए ।

प्रधानमन्त्रीको उक्त भनाईपछि भारतीय दूतावासले पठाएको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो । आलोचनाकै क्रममा प्रधानमन्त्री ओलीले माफी मागेका हुन् । आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी हो भन्नेबारे बुझ्ने काम भईरहेको उनको भनाई छ ।