उपत्यकामा साझाका रात्रिकालीन बस सेवा शुरु

काठमाडौँ,

साँझ ६, ७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेका हुन् ।

तीन रुटमा बस शुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार न्यूरोड गेटबाट नारायणगोपाल चोकहुँदै नयाँ बसपार्क, न्यूरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलङ्की र न्यूरोड गेटबाट नै नयाँबानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस शुरु भएको छ । बस विभिन्न स्थानको परिक्रमा गरेर पुनः न्यूरोड गेटमा नै फर्किरहेका छन् । यात्रुलाई रात्रिसेवाका बारेमा जानकारी नभएकाले अहिले यी बसमा यात्रु सङ्ख्या कम भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रुले जानकारी पाएपछि विस्तारै बढ्दै जानेछ ।”

अहिले परीक्षणका रुपमा तीन वटा बसबाट शुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले जनाएको छ । संस्था गैरनाफामूलक भएकाले आगामी दिनमा यात्रुको सुविधाका लागि बस थप्ने र रुट अन्यत्र फैलाउने व्यवस्थापक पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यात्रुको सुविधालाई ध्यान दिएर सेवा थप गरिरहेका छौँ ।”

काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्य बढाउँदै गएको साझाले जनाएको छ । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका लगायतले साझाको सेयर खरीद गरेको व्यवस्थापक पाण्डेयले बताउनुभयो । उहाँका अनुसार संस्थाले प्रदेश नं ३ कामनपा र ललितपुर महानगरपालिकासँगको सहकार्यमा ४५ करोडमा विद्युतीय बस खरीद गर्ने भएको छ । विद्युतीय बस खरीदका लागि प्रदेश नं ३ सरकारबाट ३० करोड, काठमाडौँ महानगरपालिकाबाट १० करोड, ललितपुर महानगरपालिकाबाट दुई करोड ५० लाख र साझा आफैँले दुई करोड ५० लाख सेयर लगानी गरेर विद्युतीय बस खरीद गर्ने निर्णय भएको हो ।
रासस