असार सकिन लाग्दा मुलुकभर २३ प्रतिशत मात्रै रोपाइँ

काठमाडौँ,
असार सकिन लाग्दा मुलुकभर २३ प्रतिशत मात्रै रोपाइँ भएको छ । समयमा मनसुन सुरु नहुँदा मुलुकभर धान रोपाइँ कम भएको हो । गतवर्षको तुलनामा यस वर्ष २९ दशमलव १९ प्रतिशत कम रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार गत आइतबारसम्म मुलुकभर २३ दशमलव ७६ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको हो । गतवर्ष सोही अवधिमा ५२ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो ।

मन्त्रालयका अनुसार मुलुकभर १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । गतवर्ष अनुकूल मौसम र पर्याप्त सिँचाइ, रासायनिक मलको व्यवस्था राम्रो हुँदा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले यसवर्ष मन्सुन ढिला सुरु हुँदा धान उत्पादनमा असर गर्ने बताए । उनले सिँचाइ व्यवस्था नहुँदा धेरै जमिन आकासे भरमा भएकाले उत्पादन असर हुने बताए ।

यस वर्ष मौसमले साथ नदिँदा धान उत्पादन अपेक्षा गरे अनुसार नहुने धान विज्ञ बताउँछन् । धान उत्पादनका लागि मुख्य सिँचाइ नै भएको हुँदा यस वर्ष पर्याप्त सिँचाइ नहुँदा धान उत्पादन घट्ने उनीहरुले बताए । धान विज्ञ भोलामानसिंह बस्नेत धान बालीलाई पर्याप्त सिँचाइको आवश्यक हुने भएकाले धान बाली पर्याप्त नहुँदा उत्पादन घट्ने बताउँछन् ।
राजधानीबाट