इक्यान मेलामा आज विद्यार्थीहरुसँग अन्तरक्रिया हुने

काठमाडौँ,
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शुक्रबार राजधानीको भुकृटीमण्डपमा विदेशमा उच्च शिक्षा लिएर स्वदेश फर्किएका विद्यार्थीसँग अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । बिहीबारदेखि सुरु भएको इक्यान शैक्षिक मेलामा डा. समीर दीक्षित, मानुषी यमी भट्टराई र बिनोद पौडेलले विद्यार्थीसँग आफूले विदेशमा अध्ययन गर्दाका अनुभव साट्नेछन् ।

दिउँसो १ बजेदेखि २ बजेसम्म हुने कार्यक्रम तीन जनाले विदेशमा रहँदाका अनुभवहरु विद्यार्थीलाई सुनाउँदै विदेशमा उच्च शिक्षा लिँदाका फाइदाबारे जानकारी दिनेछन् । समीर दीक्षित अष्ट्रेलियास्थित वेस्टर्न सिड्नी विश्वविद्यालयबाट प्रोवायोटिक्समा विद्यावारिधी गरेका हुन् । सञ्चारकर्मी, अभिनेता समेत रहेका उनले अष्ट्रेलियामा रहँदा संगालेका अनुभवहरु विद्यार्थीहरुसँग अन्तर्क्रियामार्फत साट्नेछन् ।

त्यस्तै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी तथा युवा नेता मानुषी यमी भट्टराईले पनि विद्यार्थीसँग भारतको जवाहारलाल नेहरु विश्वविद्यालयमा अध्ययन, त्यहाँको बसाइ र शिक्षाबारे आफूले बटुलेको जानकारी दिनेछिन् ।

प्यानल डिस्कसनमा बिनोद पौडेल पनि हुनेछन् । बेलायतमा एमबीए सक्याएर नेपाल फर्किएपछि हाल चलचित्र निर्माणमा हालेका पौडेलले पनि विद्यार्थी तथा उनीहरुका अभिभावकसँग अनुभव साट्नेछन् । बेलायतको ट्रिनिटी सेइन्ट डेभिड विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनी केही समय अगाडि प्रदर्शन गरिएको चलचित्र बुलबुलका निर्देशक हुन् । कार्यक्रममा यूवा अभियन्ता तथा सञ्चारकर्मी नारायण कडेरियाले प्यानल डिस्कसनको मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नेछन् ।