वडाध्यक्षले डाक्टर कुटेपछि डडेल्धुरा अस्पताल ठप्प

जनप्रतिनिधिसहितको समुहले चिकित्सकमाथि हातपात गरेपछि डडेल्धुरा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको छ ।

बुधबार दिउँसो १२ बजेतिर स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको थियो । अमरगढी नगरपालिका–११ सल्लाघारीका मृतक रमेश खड्काको शव वडाध्यक्ष खड्काले परीक्षण नगरी लगेको अपस्पतालले जनाएको छ ।

डडेलधुरा अस्पतालमा पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डडेल्धुरा अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा जीवन खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकलाई तथानाम गाली गर्दै हातपात र ढुङ्गा प्रहार गरेको विज्ञप्तिमा जनाइएकाे छ ।

यसअघि उपचारको क्रममा जेठ ३१ गते सुत्केरी भएको १४ दिनपछि अमरगढी–६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो ।