मन्त्री पण्डितमाथि दुर्व्यवहार, युवाहरुले कार्यक्रमस्थलबाटै धपाए

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितमाथि दुर्व्यवहार भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषद् बैठकमा सहभागी हुन ललितपुरको जावलाखेल पुगेका मन्त्री पण्डितमाथि दुर्व्यवहार गरिएको हो ।

आदिवासी जनजाति युवा तथा विद्यार्थीले बैठकस्थलमै नाराबाजी गर्दै उनीमाथि दुव्र्यवहार गरेका थिए । उनीहरुले पण्डितलाई कालोझण्डा समेत देखाएका थिए । स्थिति असामान्य बनेपछि अंगरक्षकले जोगाएर मन्त्री पण्डितलाई मन्त्री क्वाटर ल्याएका छन् ।

स्थानीय तहका लागि लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन खारेजीको माग गर्दै आदिवासीरजनजाति युवा तथा विद्यार्थीहरूको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रममा सहभागी हुनबाटै वञ्चित गरेको हो ।

मन्त्री पण्डित बैठकमा सहभागी नभई फर्किएसँगै बैठक समेत स्थगित भएको छ । मन्त्री पण्डित पुल्चोकस्थित मन्त्री क्वार्टरमा फर्किएका छन् । प्रदर्शनकारीहरुले ‘लोक सेवाको विज्ञापन खारेज गर, लालबाबु पण्डित राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

बैठक कक्षमा पुगेका मन्त्री पण्डितविरुद्ध नाराबाजी गरेपछि उनी त्यहाँबाट बाहिरिएका थिए । मन्त्री पण्डित बाहिरिएसँगै उनीहरुपनि नाराबाजी गर्दै पछि पछि गएका थिए । लोक सेवा आयोगले स्थानीय तहको लागि खोलेको विज्ञापन समावेशी नभएको भन्दै उनीहरुले मन्त्रीविरुद्ध नाराबाजी गर्नुका साथै लखेटेका हुन् ।

लोक सेवाले ९ हजार १ सय ६१ पदका लागि खोलेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत भएको भन्दै विरोध हुँदै आएको छ । त्यस सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आयोगले तीव्र ढंगले परीक्षाको तयारी गरिरहेको छ ।

Posted by Gobinda Chhantyal on Thursday, July 11, 2019