साफ च्याम्पियनसिप : दोस्रो जितको खोजीमा नेपाल

साफ च्याम्पियनसिप : दोस्रो जितको खोजीमा नेपाल


भारतमा जारी साफ यू–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले श्रीलंकासँग प्रतिष्पर्धा गर्न लागेको हो । श्रीलंकाबिरुद्ध हुने खेल नेपाली समयानुसार साँझ सवा ७ बजे हुनेछ ।

पहिलो खेलमा सुखद् शुरुवात गरेको नेपालले दोस्रो खेलमा पनि निरन्तरता दिन चाहन्छ । श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेशका साथ बलियो आधार बनाउन चाहन्छ । यसअघि सोमवार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो ।

तर, श्रीलंकाविरुद्ध नेपाललाई जित  निकाल्न सहज भने छैन । किनभने नेपालबिरुद्ध मैदान उत्रँदा श्रीलंका पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १–० गोल अन्तरले हराएको थियो ।

पहिलो खेलमा नतिजा सुम्पिएको श्रीलंका दबाबका बीच सुखद् नतिजाको पक्षमा हुनेछ । नेपाली टोली आज श्रीलंकासँग हुने खेलका लागि तयार भएको कप्तान आयुष घलानले बताए । सहायक प्रशिक्षक बालगोपाल साहुखलाले पनि दोस्रो खेलका लागि नेपाल तयार भएको प्रतिक्रिया दिएका छन् । 

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ । नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आईतवार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलवार हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन् । 

Logo