राहदानी तत्काल बनाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

राहदानी तत्काल बनाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ


राहदानी बनाइदिने भन्दै ठगी तथा कीर्ते गर्ने कार्यमा संलग्न ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल काठमाडौं महानगरपालिका – ७ बस्ने ३३ वर्षी राम बहादुर बोगटी, हेलम्बु घर भई काठमडौं – ७ बस्ने २२ वर्षका राम पौडेल रहेका छन् ।

त्यस्तै धनकुटाको पाख्रिबास घर भई काठमाडौं  – ७ बस्ने  २८ वर्षीय श्याम कुमार राई र गोकर्णेश्वर सुन्दरीजल स्थायी घर भई काठमाडौं – ७ चाबहिल स्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने ४१ वर्षका विबेक गुरुङ रहेका छन् ।

गत बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएका सेवाग्राहीबाट तत्कालै राहदानी बनाइदिने भन्दै नगद रकम सङ्कलन गरी ठगी गर्नुका साथै किर्ते गरी अनलाइन फारम भरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको नाममा भरिएको अनलाइन फारम ३२ थान,ल्यापटप ३ थान, प्रिण्टर १ थान र मोबाइल ३ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई ठगी सम्बन्धी कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरि प्रहरी बृत्त कालीमाटीबाट अनुसन्धान सुरु गरिएको छ ।   साथै, उनीहरुबाट अन्य व्यक्तिहरु समेत ठगीएको हुन सक्ने देखिएकाले पीडितहरू भए प्रहरी बृत्त कालीमाटीमा जाहेरी दिन अनुरोध गरिएको छ ।

Logo