मुलुकभरका टान्सपोर्ट अनिश्चितकालका लागि बन्द

बुटवल,
ढुवानी व्यवसायलाई मुल्य अभिवृद्धिकर (भ्याट) तथा अनलाईन मार्फत निगरानी गर्ने गरि सरकारले बुधवारदेखि ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ’ सिस्टम संचालन गरेपछि मुलुकभरका टान्सपोर्ट बन्द भएका छन् भने मालबाहाक ट्रक घर ग्यारेजमा थन्काएका छन् ।

सरकारले बजेट मार्फत ढुवानी ब्यवसायलाई मुल्य अभिवृद्धि कर (भ्याट) तथा मालवाहाक ट्रकलाई अनलाईन मार्फत निगरानी गर्ने निती ल्याएको र उक्त नीति बुधवार देखि लागु गर्ने घोषणा अब्यवहारीक भएको भन्दै सो निती नसच्याए सम्म मालवाहाक सवारी साधन र टान्सपोर्ट संचालन गर्न नसकिने भन्दै व्यवसायीले स्वतःस्फुर्त रुपमा बन्द गरेका हुन् ।

यस अघि नै ट्रक व्यवसायी तथा ढुवानी व्यवसायीले ढुवानीमा भ्याट र अनलाईन प्रणाली मार्फतको निगरानी तुरुन्त सच्चाउन सरकारसँग माग गर्दै नसच्चाए साउन १ गतेदेखि सवारी साधन घर ग्यारेजमा थन्काउने र व्यवसाय बन्द गर्ने उद्घोष गरेका थिए । सरकारले लागु गर्न खोजेको उक्त प्रणालीले यातायात तथा ढुवानी व्यवसायी नै चौपट हुने र ब्यबसाय सञ्चालन गर्न नसकिने निकर्ष निकालेका छन् ।

नेपाल ट्रक यातायात ब्यबसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले एक तर्फी रुपमा यो निती लाद्न खोजको र व्यवहारिक नभएकोेले तत्काल सच्चाउन माग गर्नुभयो । अनलाईन प्रणाली मार्फतको निगरानी सकारात्मक भए पनि नेपालको हालको संरचना, उपलब्ध सुचना प्रविधी, दक्ष जनशक्ति अभाव र भौगोलिक अवस्थाका कारण पनि तत्काल लागु गर्न कठिन भएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो ।

महासघंका प्रदेश ५ संयोजक यम प्रसाद पाण्डेले सरकारले ढुवानी र ट्रक ब्यबसाय क्षेत्रका समस्या बुझ्दै नबुझी एक पछि अर्को गरी अब्यबाहारिक निती ल्याउँदा ब्यबसायीहरु समस्यामा पर्ने गरेको बताउदै व्यवसायीले व्यवसाय संचालन गर्न नसक्ने भएर आफू आफैं सवारी साधन घर ग्यारेजमा थन्क्याएको बताउनुभयोे ।
नेपाल समाचारपत्रबाट

मुलुकभरका टान्सपोर्ट अनिश्चितकालका लागि बन्द