नेपाल आउन थाल्यो पाइपलाइनबाट तेल

file photo

काठमाडौं । पाइपलाइनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु भएको छ । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन तयार भएपछि डिलेज ल्याउन थालिएको हो ।

बुधबार दिउँसो २ बजे भारतीय आयल कर्पोरेसन (आइओसी) को मोतिहारी डिपोबाट छाडिएको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्ने निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए ।

आइओसीको अनुदान सहयोगमा निर्माण भएको पाइपलाइनको सबै परीक्षण सकिएपछि डिजेल पठाइएको निगमको अमलेखगन्जस्थित डिपो प्रमुख यादवले बताए ।

पाइपलाइनबाट आउने डिजेल तत्काल अमलेखगन्ज डिपोमा भने खन्याइने छैन । डिजेल पाइपमै राखिनेछ । उद्घाटनको दिन मात्र भल्ब खोलेर डिजेल पाइपबाट भण्डारणगृहमा पठाइने उनको भनाई छ । पाइपको तेल भण्डारण गर्न अमलेगखन्जको डिपोमा चारवटा ट्यांकी बनेका छन् ।

पटनास्थित आइओसीको पटना रिफाइनरीबाट भने मंगलबार बिहान मोतिहारीका लागि डिजेल पठाइएको थियो । पटना–मोतिहारी १ सय ९९ किलोमिटर पाइप पानीले सफा गरेर डिजेल छाडिएको थियो ।

यस्तो अवस्थामा पाइपको तल्लो भागमा पानी रहने भएकाले डिजेलमा समेत मिसिएको हुन्छ । त्यसैले मोतिहारीमा रोकेर शुद्धीकरण गरेपछि मात्रै अमलेखगञ्ज पठाइएको यादवको भनाई छ ।

नेपाल आउन थाल्यो पाइपलाइनबाट तेल