साफ यू–२० च्याम्पियनसिपः चीरप्रतिद्वन्द्वी नेपाल र भारत प्रतिस्पर्धा गर्दै

साफ यू–२० च्याम्पियनसिपः चीरप्रतिद्वन्द्वी नेपाल र भारत प्रतिस्पर्धा गर्दै


साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतसँग खेल्दैछ । भारतस्थित भुवनेश्वर कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतलाई हराउन सके एक खेल अगावै फाइनलमा स्थान पक्का गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार आज साँझ सवा सात बजे सुरु हुनेछ । 

यो वर्षबाट सुरु यू–२० साफ च्याम्पियनसिपमा नेपालले हालसम्म २ खेलबाट ६ अंक जोड्दै समुहको दोस्रो स्थानमा छ भने बंगलादेश ३ खेलबाट ९ अंक जोडी समुहको शिर्ष स्थानमा रहेको छ । भारतसँग भने दुई खेल खेली सक्दा जम्मा तीन अंक मात्र जोड्न सकेको छ ।

भारतले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–१ गोलले हारेको थियो । यस्तै पछिल्लो खेलमा पुनरागमन गर्दै श्रीलंकालाई ४–० ले हराएको थियो । राउन्ड रेविन लिगका आधारमा शिर्ष दुई टोली मात्र उपाधिका लागि भिड्ने भएकाले यदि आजको खेलमा भारत नेपालसँग पराजित भएमा समुहचरणबाटै बाहिर निस्कने छ । 

भारत सन् २०१९ मा आयोजित साफ यू–१९ च्याम्पियन लिग जितेको थियो । नेपालले पनि सन् २०१५ र २०१७ मा यू–१९ च्याम्पियन नै जितेको थियो । सन् २०१५ को फाइनलमा नेपालले भारतलाई नै फाईनल खेलमा ट्राइब्रेकरमा हराएर २२ वर्ष पछि कुनै पनि अन्तराष्ट्रिय खेलमा पाएको सबैभन्दा ठुलो उपलब्धी थियो । 

सन् २०१९ मा भारतले फाइनलमा बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको हो । दुई संस्करणको विजेता नेपाल भने घरेलु मैदानमा समूह चरण समेत पार गर्न सकेन । समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ को बराबरी खेल्दा भुटानसँग ३–० को फराकिलो हार बेहारेको थियो ।

भारत आफ्नो पछिल्लो खेलमा श्रीलंकालाई हराउदै पुनरागमन गरेकाले भारत आफ्नो घरेलु मैदानको फाईदा उठाउदै नेपाललाई पराजित गर्न चाहन्छ । आजको खेल पश्चात नेपाल राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि २० साउनमा उपाधिका लागि एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

भारतीय टोलीका प्रशिक्षक वेङकटेस सानमुगमले टिममा आत्मविश्वासको अभाव रहेको र पछिल्लो खेलमा श्रीलंकामाथि ४–० को जित निकालेसँग त्यो फर्किएको बताएका छन् । ठूलो अन्तरले जित निकाल्दा खेलाडीमा जित्न सक्छौं भन्ने भावना विकसित हुन्छ । मलाई आशा छ, यही मानसिकतालाई हामी आउदो खेलमा पनि निरन्तरता दिन सक्छौं,’ प्रशिक्षक वेङकटेसले भनेका छन् ।

उनले श्रीलंकामाथि जित निकाले पनि नेपाल र माल्दिभ्ससँगको खेललाई विशेष ध्यानमा राखेर तयारी गरिरहेको बताए । नेपालका प्रशिक्षक मेघराज केसी नेपालका लागि तेस्रो खेल भारत र चौथो खेल बंगलादेशसँग हुन्छ भन्ने पहिल्यैबाट थाहा भएको बताउछन् । उनी भन्छन् ‘हामी हाम्रो टिममा विश्वास गर्छौं । हाम्रो टीमले जसरी टीमवर्क गरेर मेहनत गरिरहेको छ, त्यो अनुसार प्रदर्शन गर्नेमा म ढुक्क छु, । प्रशिक्षक केसी थप्छन् ‘हामी यहाँ अपर्झट योजनाबिना आएका होइनौं । त्यसले गर्दा ४ वटा राष्ट्रहरुलाई हराउन हामीले मेहनत गर्नैपर्छ ।’

उनले उमेर समूहमा दक्षिण एसियाका सबै टोलीको स्तर उस्तै भएकोले अलिकति तलमाथि देखिएता पनि खास फरक नपर्ने दाबी गरे । जारी प्रतियोगितामा नेपालका लागि कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले दुई–दुई गोल गरेका छन् । भने कप्तान आयुष घलान, दिपेश गुरुङ र सुगम सुवालले एक एक गोल गरेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा मालदिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले हराएको थियो । नेपालले दुई खेलमा ७ गोल गरिसक्दा १ गोल पनि खाएको छैन् । 

Logo